हेटौँडा : धादिङ जिल्लाको निलकण्ठ नगरपालिका–११ लामस्थानमा जबरजस्ती करणीको घटनापछि घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ । गत बुधबार दिउँसो ४ बजेको समयमा दिदीको घरमा बस्दै आएकी २९ वर्षीया महिला (परिवर्तित नाम) लाई सोही स्थानका ३१ वर्षीय खिल बहादुर नगरकोटीले जबरजस्ती करणी गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
घटनापछि पीडित महिलाको शरीरमा रगतको मात्रा कमी भएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल धादिङमा लगिएको थियो । उपचारको क्रममा बुधबार बिहान १ बजेर २० मिनेटको समयमा उनको मृत्यु भएको प्रहरी जनाएको छ । प्रहरीका अनुसार मृतक महिला अविवाहित तथा मानसिक अवस्थाले सुस्त रहेको बताइएको छ । घटनामा संलग्न नगरकोटी फरार रहेकोले खोजी कार्य भई रहेको प्रहरीले जानकारी दिएको छ ।










