हेटौँडा : जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा मकवानपुरका १० वटै पालिकाका असल अभ्याससम्बन्धी अनुभव आदानप्रदान कार्यक्रम भएको छ । हेटौँडामा सोमबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा मकवानपुरका १० वटै स्थानीय तहका प्रमुख, उपप्रमुखको उपस्थिति रहेको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको सचिवालयले जनाएको छ । कार्यक्रममा मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रममा मकवानपुरका १० वटै पालिकाका प्रतिनिधिले आआफ्ना अभ्यास प्रस्तुत गरेका थिए । प्रस्तुतीपछि अन्तरक्रिया पनि भएको समन्वय प्रमुखको सचिवालयले जनाएको छ ।
कार्यक्रममा मुख्यमन्त्री बानियाँले जिल्ला समन्वय समिति मकवानपुरको समन्वयकारी भूमिकाको प्रशंसा गर्दै अबबाट पालिकाले सर्वपक्षीय राजनीतिक तथा सरोकारवाला बीच भएको सर्वसहमतिले पारित गरेका योजनालाई प्रदेश सरकारले बजेट व्यवस्थापन गर्ने बताउनुभएको समन्वय प्रमुखको सचिवालयले उल्लेख गरेको छ । बागमती सरकार जेन जी पुस्ताको असन्तुष्टिलाई हल गर्ने गरी सरकारको सुशासन तथा गुणस्तरीय सेवालाई प्रवद्र्धन गर्दै लाने बताउनुभयो ।
समन्वय प्रमुख घलानले कार्यक्रमले १० वटै पालिकाहरुमा एक–अर्काका असल अभ्यासले जिल्लालाई अझ समुन्नत बनाउने बताउनुभयो । कार्यक्रममा बागमती प्रदेश सभा सदस्यहरु कुमारी मोक्तान र प्रेम बहादुर पुलामीको पनि आतिथ्य रहेको थियो ।











