सांकेतिक तस्वीर ।

हेटौँडा : चितवन जिल्लामा छुट्टाछुट्टै स्थानमा बेवारिसे अवस्थामा फेला परेका महिला र पुरुषको मृत्यु भएको छ ।

चितवनको भरतपुर महानगरपालिका–३, बेलचोकमा बेवारिसे अवस्थामा भेटिएका एक जना वृद्धको मृत्यु भएको छ । शुक्रबार चितवनको रत्ननगर नगरपालिका–१३ बाट हाल नाम थर नखुलेको अन्दाजी ८२ वर्षीय पुरुषलाई उद्दार गरी बेलचोकस्थित मानवसेवा आश्रममा राखिएको थियो । वृद्धको आइतबार दिउँसो ४ बजेर ३० मिनेटको समयमा आश्रममा नै मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

चितवनको भरतपुर महानगरपालिका–३, पुलचोकमा एक बेवारिसे अवस्थामा भेटिएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ जिल्लाको गजुरी घर बताउने २२ वर्षीय सुस्मिता गुरुङ रहेको प्रहरीले जनाएको छ । सुस्मितालाई भदौ १५ गते राती १० बजेर १० मिनेटको समयमा पुलचोकबाट दाहिने खुट्टामा घाउ भई खुट्टा सुन्निएर हिँड्डुल गर्न नसक्ने बिरामी अवस्थामा फेला पारेको थियो । सुस्मितालाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । उपचारको क्रममा आइतबार राती ९ बजेको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।