कार्यक्रममा सम्बोधन गर्नुहुँदै संघीय सांसद दीपक बहादुर सिंह ।

हेटौँडा : प्रतिनिधिसभा सदस्य दीपक बहादुर सिंहले सत्ताधारी दलका नेताहरु भ्रष्ट्राचारमा चुर्लुम्म डुबेर नाङ्गो नाच देखाएको आरोप लगाउनुभएको छ । शनिबार हेटौँडामा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधीसभा निर्वाचन क्षेत्र नम्बर १ (क) को दोस्रो अधिवेशनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो आरोप लगाउनुभएको हो ।

उहाँले भ्रष्ट्राचारीलाई कुनै पनि सार्वजनिक पद दिन नहुने आफुले जीकिर गरिरहँदा एक पदबाट हटाई अर्को पदमा स्थानान्तरण गरेर ढाकछोप गर्ने गरेको समेत दावी गर्नुभयो । यस्तै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै नयाँ आएका दलले पनि नेपाललाई भारतमा बिलय गर्ने प्रपञ्चमा लागेको आरोप लगाउनुभयो । पछिल्लो समय कालापानी लिम्पियाधुरा क्षेत्रबारे राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कसैले पनि भारत बिरुद्ध बोल्न नसकेको आरोप लगाउनुभयो ।

शनिबार सम्पन्न दोस्रो अधिवेशनबाट उमेश थापाको अध्यक्षतामा १५ सदस्यीय क्षेत्र नं. १ (क) समिति सर्वसम्मत रुपमा चुनिएको छ । राप्रपाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ (क) का अध्यक्ष सिताराम बर्तौलाको अध्यक्षतामा सम्पन्न अधिवेशनले सदस्यहरुमा रामप्रसाद कोईराला, कबिन्द्र भट्टराई, मुरारी पौडेल, चमेलीमाया घिसिङ् लामा, सुदिप शाक्य, माया राना, संगीन श्रेष्ठ, विकास दुलाल, नारायण अधिकारी, भिमा कुमारी सापकोटा, विवेक बिक्रम शाह, किशोर केसी खत्री, लोकनाथ चौलागाईं, सरोज गजुरेल र इन्द्र बानियाँ चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष थापाले आफ्नो कार्यकालमा पार्टीको नीति–कार्यक्रमलाई जनतासम्म पु¥याउने, स्थानीय मुद्दा उठाउने र क्षेत्रीयस्तरमा संगठनलाई अझ सशक्त बनाउन प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

अधिवेशनको उद्घाटन समारोहमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्यहरु नवराज बिष्ट, रामहरि न्यौपाने, राम बहादुर थोकर, बागमती प्रदेश सचिव गुन्जन बहादुर न्यौपाने, क्षेत्र नं. १ (क) का अध्यक्ष देवनारायण सापकोटा, कार्यकारी अध्यक्ष सागर थापा, हेटौँडा नगर कमिटी अध्यक्ष अरुण लामा लगायतको सहभागिता थियो ।