हेटौँडा : नेपाली भाषा शिक्षक समिति मकवानपुरले कक्षा १२ को परीक्षामा नेपाली विषयमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । शनिबार हेटौँडामा एक कार्यक्रम आयोजना गर्दै समितिले कक्षा १२ मा नेपाली विषयमा ग्रेड ‘ए प्लस’ ल्याउने विद्यार्थी, नेपाली विषय अध्यापन गर्ने शिक्षकहरुलाई सम्मान गरेको हो ।
उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रममा हेटौँडा स्कुल अफ म्यानेजमेन्टका ३१ जना, हेटौंडा क्याम्पसका ८ जना, मकवानपुर बहुमुखी क्याम्पसका ८ जना र भुटनदेवी माविका १ जना गरी जम्मा ४८ जना थिए । ती विद्यार्थीलाई अध्यापन गर्ने शैक्षिक संस्थाका १५ जना शिक्षकहरुलाई पनि सम्मान गरिएको छ । यस्तै कार्यक्रममा समितिका निवर्तमान अध्यक्ष केशव सञ्जेल, निवर्तमान उपाध्यक्ष अनिता तिमल्सिना, सहसचिव रामचन्द्र तिमल्सिनालाई पनि महत्वपूर्ण योगदान पुर्याएको भन्दै समितिले सम्मान गरेको छ ।
जिल्ला समन्वय समितिका प्रमुख ललित घलानको प्रमुख आतिथ्य तथा समितिका अध्यक्ष ज्योति न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको हो । इ– प्लानेटले प्रायोजन गरेको कार्यक्रममा समितिका सल्लाहकारहरु रमेशमोहन अधिकारी, विष्णुप्रसाद गौतम, केशवप्रसाद सञ्जेल, ह्याग्रिव आचार्य, माधव प्रसाद खतिवडा, लगायत विभिन्न शिक्षक सम्बद्ध संघ संगठनका प्रतिनिधीहरु एवम् शिक्षक, विद्यार्थीको उपस्थिति रहेको थियो ।











