हेटौंडा : मकवानपुरको भीमफेदी–कुलेखानी सडकखण्डमा बैकल्पिक बाटोका लागि अध्ययन सुरु भएको छ । मंगलबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको विशेष पहलमा भौतिक पूर्वाधार विकास मन्त्रालयका प्राविधिक टोलीले निरीक्षण गरेको हो ।
अध्ययनको नतिजा केहि दिनमा मन्त्रालयले प्रकाशन गर्ने इन्द्रसरोवर गाउँपालिकाको २ नम्बर वडा अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिनुभयो । भीमफेदी गाउँपालिका–६, जुरिखेतमा रहेको ११ घुम्तीमा धेरै दुर्घटना हुने भएकाले सडक सुधारका लागि वैकल्पिक बाटो खोजिएको हो ।
भीमफेदी–कुलेखानी सडकखण्डको बैकल्पिक बाटो खोजी र घुम्तीहरुलाई फराकिलो बनाउन लागिएको श्रेष्ठको भनाइ छ । घुम्ती विस्तारका लागि बैकल्पिक बाटो नभए बाटो बन्द गरेर नै बनाउनु पर्ने अवस्था रहेकाले बैकल्पिक बाटोको खोजी गरिएको हो । उहाँका अनुसार पहिले राणा कालमा त्यस क्षेत्रमा करिब २ किलोमिटर बैकल्पिक बाटो रहेको थियो ।
नयाँ बाटो भेटियो भने ११ घुम्ती करिब २ मिटर डाउन गरेर बनाउँदा बाटो बन्द गर्नुपर्ने अवस्था नआउने उहाँको भनाइ छ । प्राविधिकको टोलीलाई भीमफेदी गाउँपालिका ६ नम्बर वडाका निवर्तमान वडा अध्यक्ष सीताराम थापा र स्थानीयले निरीक्षणका लागि सहयोग गरेका छन् ।











