१. भाद्र १५ गते पुस्तकालय दिवस भनियो । नेपालमा पहिलो सार्वजनिक पुस्तकालयको स्थापना बि.सं. २००० साल भाद्र १५ गते दरबार हाईस्कूलमा भएको आधारमा भदौ १५ गतेलाई पुस्तकालय दिवस भनिएको हो । शिक्षा मन्त्रालयले यो १८ औं पुस्तकालय दिवस मनाउन मातहतका निकायमा पत्राचारको औपचारिकता निभायो । जिल्ला तहमा आईपुग्दा माथिका आदेशानुसार पुस्तकालय दिवस मनाउन स्थानीय तहहरुलाई विद्यालयहरुमा पत्राचार गरिदिन भन्दै शिक्षा विकास तथा समन्वय इकाईहरुले आआफ्नो अस्तित्व देखाए, त्यो पनि सबैले होइन । विद्यालयहरुसम्म जानकारी पुग्यो पुगेन पछि लाग्ने त कुरै भएन ! अर्को तर्फ, आदेशको चिठ्ठी बिना स्कूलहरुले कार्यक्रम गर्ने कुरा पनि भएन । आदेश अनुसारको कार्यक्रममा पुस्तकालय दिवस कसरी मनाउने पनि उल्लेख नहुँदा विद्यालयहरु नै अलमलमा परेका पनि देखिए ।

यस्ता दिवसले विद्यालयको वार्षिक कार्यतालिकामा बिरलै स्थान पाउने स्थिति छ । अझ, पुस्तकालय दिवस त स्कूलका ससाना बालबालिकाहरुका लागि मात्र जस्तो देखियो । कलेजस्तरमा पुस्तकालय दिवसका कुरा थोत्रा भए । विश्वविद्यालयमा पुस्तकालयका कुरा जीर्ण किताबहरुको स्टोर बनेको छ । हुन पनि, आजको एआई युगमा ईन्टरनेट र च्याट जिपिटि जस्ता अत्याधुनिक प्रविधिको प्रयोग छाडेर धुलोमैलोले नामै मेटिएका किताब खोज्ने धृष्टता नै अन्धपरम्परा भित्र पर्ने स्पष्ट छ । बिगतका सार्वजनिक र हिजोका सामुदायिक पुस्तकालयहरु आज इतिहास बनिसकेका छन् । छापाका किताब र अखबारहरु बिस्तारै कथा बनिरहेका छन् । सामाजिक सञ्जालका अतिरिक्त अनलाईन मिडियाहरुमा कतै पुस्तकालय अनि पठन संस्कृतिका चर्चा भएनन् । पुस्कालय दिवस आयो र गयो, धेरैलाई पत्तो भएन ।

२. सामान्य अर्थमा पुस्तकालय शब्दले किताबको घर अर्थात किताबहरु राख्ने स्थान बुझिन्छ । मानव सभ्यताको विकासक्रमसँगै महत्वपूर्ण सामग्रीहरु संकलन गर्ने काम भएकाले नै प्राचिन इतिहास लेख्न सजिलो भएको हो । विगत जान्न र बुझ्न त कोहि न कोहिले तत्कालिन सामग्रीहरु र पहिचानका कुराहरु जतन गरेर राख्नै प¥यो । प्राचिन ढुंगे युगमा मेसोपोटामियाका बासिन्दाहरुले पुराना वस्तुहरु तथा प्रयोग गरिएका सामग्रीहरु बासस्थानमा जम्मा गरेर राख्ने गर्दथे भनिन्छ । ईसापूर्व ५०० वर्षभन्दा अगाडि इजिप्ट तथा ग्रिसका बासिन्दाले माटोका ट्याब्लेटहरुका अतिरिक्त घरका भित्तामा धर्सा कोरेर राख्ने, चित्र बनाउने, बिस्तारै शिलालेखहरु तयार गर्ने अनि हस्तलिखित सामग्रीहरु अभिलेखीकरण गर्ने काम नै पुस्तकालयको प्रारम्भिक चरण भएको पाईन्छ ।

शिलालेखहरुमा तत्कालिन भए गरेका कामका विवरणहरु उल्लेख गर्ने चलन नै थियो । बिस्तारै युरोपेली मुलुकहरुमा हस्तलिखित अभिलेख संग्रह गर्ने चलन नै बन्यो । समाज विकासको क्रमसँगै मध्ययुगिन कालखण्डमा छापाखानाहरु बनेसँगै खासगरी धार्मिक किताबहरु लेखिन थालेपछि पुस्तकालयको महत्व बढ्दै गएको स्पष्ट छ । पुनर्जागरणकालमा आईपुग्दा पुस्तकालयले प्रष्ट खाकासहित आफ्नो आकार र प्रकारमा देखिने परिवर्तनसहित विश्वव्यापी अभियानमा जोडिएको पाईन्छ । सतहबाट हेर्दा १८ औं र १९ औं शताब्दीबाटै सार्वजनिक आधुनिक पुस्तकालयहरुको जन्म भैसकेको बुझिन्छ । आज हामीले जान्न पाएको यो दुनियाँको विकास विगतका कामका चित्रहरु र विवरणहरु नै प्रमाणित आधारहरु हुन् । समाज विज्ञान र इतिहाससँगै खोज तथा अनुसन्धानका आधारका रुपमा प्रयोग भएका यिनै संकलित सामग्रीहरु आधुनिक पुस्तकालयका प्रमाण भएकोमा शंका छैन ।

३. नेपालको सन्दर्भमा पनि पुस्तकालयको इतिहास प्राचिन परम्परासँग जोडिएको पाईन्छ । व्यक्तिले शिक्षा, सीप र ज्ञानसँग जोडिएका विभिन्न चित्रहरु र वस्तु तथा सामग्रीहरु संकलन गर्ने, शिलालेखहरु बनाउने र सुरक्षित गर्ने कामबाट नै पुस्तकालयको प्रारम्भ भएको मानिन्छ । लिच्छवीकाल र मल्लकालमा पुस्तकालयका लागि तत्कालिन शिक्षाप्रेमीहरु र विद्वान वर्गले भारतका नालन्दा र तक्षशिला विश्वविद्यालयमा अध्ययन गरी फर्कंदा ल्याएका किताबहरु अनि तीर्थाटन गर्न जाँदा वाराणसी, अयोध्या, बद्रिनाथ, केदारनाथ, द्वारका, मथुरा लगायतका धामहरुबाट किनेर ल्याएका किताबहरु घरमै संकलन गरी जतन साथ कोठा नै पुस्तकालय बनाउनेहरुबाट पुस्तकालयको विकासमा योगदान भएको पाईन्छ । २० औं शताब्दीको मध्यकालमा आधुनिक पुस्तकालयहरु स्थापना भएका थिए ।

राज्यस्तरमा वीर शमशेरको समयमा वीर पुस्तकालयको स्थापना बि.सं. २००४ सालमा काठमाडौंमा भएको र यो नै नेपालको पहिलो औपचारिक पुस्तकालय भनिएको छ । तत्पश्चात बि.सं. २०१६ सालमा नेपाल राष्ट्रिय पुस्तकालयको स्थापना पुल्चोक ललितपुरमा गरियो जुन देशकै सबैभन्दा ठूलो पुस्तकालय मानिएको छ । यसैगरी २०१७ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रिय पुस्तकालय कीर्तिपुरमा स्थापना भएको हो । शैक्षिक खोज अनुसन्धानका अतिरिक्त इतिहास, समाज विज्ञान र साहित्यका अनेकौं पुस्तकहरु उपलब्ध हुने यो पुस्तकालय देशकै सबैभन्दा महत्वपूर्ण मानिएको छ । तत्कालिन शिक्षा मन्त्रालय रहेको केशर महलस्थित केशर पुस्तकालय र जनकपुरको सार्वजनिक पुस्तकालयका अतिरिक्त देशका विभिन्न स्थानमा स्थापित पुस्तकालयहरु प्रसिद्ध थिए । विद्यालय र कलेजहरुको स्थापनासँगै विद्यार्थीहरुका लागि केहि पाठ्यपुस्तक तथा साहित्यिक किताबहरु अनि नेपाली तथा अंगे्रजीका शब्दकोषहरु राखी शिक्षण संस्थाहरुमा पुस्तकालय स्थापना गर्ने चलन शुरु भयो ।

४. पुस्तकालय बिनाको शिक्षण संस्था बन्नै सक्दैन भन्ने मान्यताले पछिल्लो समयमा चर्चा पाएकै हो । सरकारको तर्फबाट पनि पुस्तकालय स्थापनाका लागि बजेट बिनियोजन गर्ने र हरेक विद्यालय तथा कलेजमा पुस्तकालय स्थापनाका लागि प्रोत्साहन गरिएको कुरा स्मरण योग्य छन् । गैरसरकारी संस्थाहरु विशेष गरी ‘रुम टु रिड’ नामक संस्थाको पुस्तकालय सहयोग अभियान बिर्सन मिल्दैन । एकताका देशका सुगमदेखि दुर्गम कुनासम्म पनि पुस्तकालय स्थापनाको लहर नै चलेको थियो । संस्थागत मात्र नभई व्यक्तिगत रुपमा समेत कवि, लेखक, साहित्यकार, शिक्षक, प्राध्यापक, अनुसन्धानकर्ताहरुले अध्ययनका लागि घरमै पुस्तकालय बनाउने र मृत्यु पश्चात सरकारलाई हस्तान्तरण गर्ने काम भएका उदाहरण पनि छन् ।

विद्वान तथा विज्ञहरु किताब अर्थात पुस्तकालय नभएको घर सही अर्थमा घर नै होइन भन्दछन् । स्कूल, कलेजका पुस्तकालयमा मुख्यतः तोकिएका पाठ्यक्रममा आधारित किताब सहयोग गर्ने व्यक्तिहरु पनि धेरै हुन्थे । पुस्तकालय तथा क्लबहरुमा नियमित दैनिक अखबारहरु, साप्ताहिक, पाक्षिक, मासिक, अर्धवार्षिक तथा वार्षिक पत्रिकाहरु जिम्मा लिएरै उपलब्ध गराउनेहरु कम थिएनन् । साहित्यिक किताबहरु, शब्दकोषहरु किनेर पठन संस्कृतिमा टेवा पु¥याउनेहरुको संख्या अधिक थियो । लेखकहरु आफ्ना कृति संस्थाहरुमा उपहार बाँड्थे । घुम्ति पुस्तकालय अर्थात घर–घरमा टोल–टोलमा विभिन्न विधाका किताबहरु लगेर किताब पढ्न प्रेरित गरेका अनेकौं उदाहरण छन् ।

५. आजका पुस्तकालय रोगी बनेका छन् । पुस्तकालयका ढोकाहरु नखोलिएका महिनौं भएका छन् । किताबहरुमा धमिरा लागेको छ । ओसका कारणले पढ्न सकिने अवस्थामा किताब छैनन् । किताबका दराज, ¥याक, आदिमा माकुराको जालो छ । धुलोमैलो त कुरै नगरौं । प्रधानाध्यापक, कलेज चिफहरु, कार्यालय प्रमुखहरु, सरकारी गैरसरकारी उच्च पदस्थ व्यक्तित्वहरुको टेबलमा आज डिक्स्नरी लगायतका ऐन कानूनका किताबहरुको सट्टामा ल्यापटप मुस्कुराइरहेको देख्न सकिन्छ । शिक्षकहरु मात्र होइनन् विद्यार्थीहरु पनि पुस्तकालय जान उत्साहित छैनन् । व्यक्तिगत पहलमा किताबहरु किनेर र संकलन गरी समुदायमा स्थापना गरिएका पुस्तकालयको अवस्था पनि नाजुक छन् । यो राम्रो पक्ष भन्न मिल्दैन । पानीको तिर्खा मोहिले मेटाउन नसकिने भनाई जस्तै किताब तथा छापाका अखबारको स्थान प्रविधिमा अपलोड भएका सामग्रीहरु र अनलाईन विद्युतीय समाचारले कदापि लिन सक्दैनन् ।

किताब पढ्दाको सहजता कम्प्युटर वा ल्यापटपमा पाईंदैन । खोजेका सामग्रीहरु भेट्न र अभिलेखीकरणका लागि पनि किताब तथा अन्य पाठ्य सामग्रीहरुको हार्डकपि नै जरुरी पर्दछ । पुस्कालयको सम्बन्ध पठन संस्कृतिसँग जोडिएको छ । पछिल्ला दिनहरुमा किताब किन्ने र किताबको लोकार्पणमा गएर हातमा एक किताब बोक्ने फेसन नै बनेको छ । किताब पढ्ने फुर्सद भएका व्यक्ति भेट्न मुस्किल रहेको स्थिति नकार्न मिल्दैन । कुनैबेला बिवाहमा दुलहीलाई किताब उपहार दिने चलन थियो भन्दा अहिले धेरैले नपत्याउलान् । प्रचार र चर्चाका लागि किताब लेख्ने र वितरण गर्नेहरु पनि कम छैनन् । पुस्तकालयमा जाने, रुचीका किताबहरु छनौट गर्ने र अध्ययन गर्ने परम्परालाई ब्युँताउनु पर्दछ । पठन संस्कृतिको कुरा मात्र होइन, काम गरेर देखाउन जरुरी छ । सम्वद्ध सबै पक्षहरुमा पुस्तकालयका बारे बहस र विश्लेषणका लागि यो आलेख सहयोगी बन्ने अपेक्षा गरिएको छ ।