हेटौंडाः बागमती प्रदेश सरकारको लगानीमा घरेलु तथा उद्योग उपज प्रदर्शनी भवन तथा संरचना निर्माण सम्पन्न भएको छ । प्रदेशको राजधानी हेटौंडा–४ स्थित भुटनदेवी मावि परिसरमा प्रदर्शनी भवन निर्माण गरिएको हो ।
प्रदेशको आर्थिक विकासमा घरेलु तथा साना उद्योग र कृषि उपजको विशेष भूमिका रहँदै आएको साना उद्यम, युवाको स्वरोजगार र उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यका साथ भवन निर्माण गरिएको हो । उक्त भवनको भौतिक संरचना निर्माणको सबै काम सम्पन्न भएको छ ।
स्थानीयस्तरमा उत्पादन हुने वस्तुहरुको बजारीकरण, प्रवद्र्धन र प्रदर्शनमात्र नभई स्वरोजगार र सीपयुक्त मानवशक्ति विकासमा सहयोग पु¥याउने अपेक्षासहित निर्माण गरिएको उक्त भवनको गत साउन १५ मा उद्घाटनसमेत भइसकेको छ । प्रदेश सरकारले स्थापना कालदेखि नै उद्यमशीलता विकास, स्वरोजगार सिर्जना र स्थानीय उत्पादनको बजार सुनिश्चित गर्ने नीतिलाई प्राथमिकतामा राख्दै सो भवन निर्माण थालेको थियो ।
घरेलु तथा स्थानीय स्तरमा उत्पादित वस्तु तथा सेवाको बजारीकरण र प्रदर्शनको स्थायी संरचना अभाव हटाउने उद्देश्यका साथ उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयबाट ठेक्का लगाएर सो भवन निर्माण गरिएको थियो । २०७८ सालमा तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गर्नुभएको उक्त भवनले २०८२ मा मात्र पूर्णता पाएको थियो । निर्माण व्यवसायीको ढिलासुस्ती, कोरोना संक्रमण र राजनीतिक समीकरणको फेरबदलका कारण ४ तले उक्त भवन निर्माण गर्न ४ वर्ष लागेको थियो ।
प्रदेश राजधानी हेटौंडामा निर्माण गरिएको उक्त भवनमा प्रदेशका १३ वटै जिल्लाका घरेलु तथा स्थानीय उपजहरु राखेर प्रदेशस्तरीय प्रदर्शनी तथा बजारीकरणको केन्द्र बनाउँदै बिक्रीको प्रबन्ध गर्ने उद्देश्य निर्देशनालयको रहेको छ । प्रदेश सरकारको अनुमानित लागत ९ करोड ५९ लाख ८५ हजार ७४७ रुपैयाँ रहेको उक्त भवनको सार्वजनिक खरिद ऐन, नियमावलीअनुसार ठेक्का प्रक्रिया पूरा गरी सीएम÷नव सिर्जनशील÷स्लेट जेभी काठमाडौंले ६ करोड ४३ लाख १९ हजार ३७९ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
२०७८ असोज ७ गतेबाट निर्माण सुरु गरिएको उक्त भवन निर्माण समयमा नभएपछि निर्देशनालको पटक पटकको ताकेता र अनुगमनपछि सम्पन्न भएको हो । भवन निर्माण चुस्तदुरुस्त गराउन निर्माण सुरु भएदेखि नै नियमित अनुगमन तथा प्राविधिक मूल्यांकन गरिएको निर्देशनालयका निर्देशक पुस्करचन्द्र घिमिरेले जानकारी दिनुभयो ।
निर्देशक घिमिरेका अनुसार भवनको संरचना प्रदेशस्तरीय प्रदर्शनी स्थलको आवश्यकता अनुसार आधुनिक र सुविधायुक्त ढाँचामा डिजाइन गरिएको छ । भवनको भुईंतलामा प्रदर्शनी तथा बिक्रीका लागि ७ वटा सटर रहेको उहाँले बताउनुभयो । उक्त स्थानमा घरेलु तथा साना उद्योग, कृषि उपज बिक्रेताका लागि मात्रै दिइने उहाँको भनाइ छ । व्यवस्थापकीय कोठा, आगन्तुकहरुका लागि सोधपुछ कक्षसमेत यस तलामा रहने उहाँले बताउनुभयो ।
पहिलो तलाको संरचनामा प्रदर्शनी कक्ष, गोष्ठी, छलफल तथा अन्तरक्रिया कक्ष रहनेछ भने सोही कक्षमा उत्पादक, बिक्रेता, उपभोक्ता र व्यवसाय प्रवद्र्धनकर्ताबीच सहकार्य र नेटवर्किङ बढाउने अवसर प्रदान गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । भवनको दोस्रो तला पनि प्रदर्शनी कक्ष को रुपमा प्रयोग हुने र विशेषगरी साना उद्योगका उत्पादन, घरेलु हस्तकलाका सामग्री, कृषि उपजहरू प्रदर्शनी गरिने निर्देशक घिमिरेले बताउनुभयो ।
भवनको तेश्रो तलामा तालिम, सेमिनार, प्रेस मिट, नीति निर्माणसम्वन्धी गोष्ठी तथा सभा आयोजना गर्न आधुनिक सुविधासहित कन्फरेन्स हल रहेको छ । यसले प्रदेशस्तरीय सम्मेलन तथा छलफललाई समेत व्यवस्थित बनाउने अपेक्षा गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार स्थानीय अर्थतन्त्रमा यसको प्रभाव र रोजगार सृजना सम्भावनाप्रति सकारात्मक भूमिका खेल्नेछ ।
उक्त बहुउद्देश्यीय भवनले स्थानीय उत्पादनको वृद्धि, स्वरोजगार सिर्जना, उद्यमशीलता विकासको समग्र वातावरण निर्माणमा भूमिका खेल्ने निर्देशक घिमिरेको भनाइ छ । प्रदेश सरकारले प्रदेशको समग्र पूर्वाधार विकाससँगै उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गर्न ठूला योजनाहरु अघि सारिरहेको उहाँले बताउनुभयो ।
सञ्चालन मोडालिटी अन्योल
संरचना निर्माण भए पनि सञ्चालनको मोडालिटीबारे अन्योलता रहेको छ । ‘घरेलु तथा उद्योग उपज प्रदर्शनी भवन’ तयार भए पनि सञ्चालनको मोडालिटी नहुँदा अन्योलता देखिएको हो । समयमै सञ्चालन मोडालिटी नबन्ने हो भने भवन प्रयोगविहीन रहने निश्चित छ ।
हालसम्म भवन कसले सञ्चालन गर्ने भन्ने विषयमा स्पष्ट निर्णय नभएको निर्देशनालयका निर्देशक घिमिरेले बताउनुभयो । मन्त्रालय, घरेलु तथा साना उद्योग विकास समिति वा निजी क्षेत्रको सहकार्यमा सञ्चालन गर्ने वा अन्य विकल्पहरु खोज्ने भन्ने विषयमा छलफल चलिरहेको उहाँले बताउनुभयो ।
स्थानीय उद्यमी तथा उत्पादनकर्ताहरुलाई सहज हुने गरी उक्त भवन सञ्चालनको मोडालिटी तयार हुने उहाँको भनाइ छ । स्थायी र दिगो मोडालिटी बनाएर दीर्घकालीनरुपमा भवनको उपयोग सुनिश्चित गर्नेगरी मन्त्रालय तथा निर्देशनालय अग्रसर रहेको उहाँले बताउनुभयो । ‘स्थानीयस्तरमा उत्पादित घरेलु र साना उद्योगका उत्पादन बागमतीमा धरै छन् । सानो लगानीमा उत्पादन भएका छन् । तर, प्रदर्शन र बिक्रीको उपयुक्त प्लेटफर्म छैन । यस्तो भवन साना उद्यमीका लागि महत्वपूर्ण स्थान हुनसक्छ । आवश्यक तयारी र मोडालिटी तयार गरेर भवन सञ्चालन गर्नेमा अग्रसर छौं ।’ उहाँले भन्नुभयो ।
उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव हेमराज भुषालका अनुुसार ‘घरेलु तथा उद्योग उपज प्रदर्शनी भवन’ निर्माण सुरु भएकै ताका सञ्चालनको खाका बनाउन एक समिति गठन गरिएको थियो । तर, सो समितिले ठोस काम गर्न नसक्दा हालको अवस्था सिर्जना भएको हो ।’ सञ्चालन मोडालिटी र कार्यविधि नहुँदा सरकारी संरचनाहरुको भविष्यमाथि गम्भीर प्रश्न उठाएको उहाँले बताउनुभयो । समयमै सञ्चालन नहुँदा संरचना जीर्ण बन्दै जाने र जुन उद्देश्यले लगानी गरिएको हो, त्यो पनि पूरा नहुने खतरा रहेको उहाँले बताउनुभयो ।
‘निर्माण सम्पन्न भएपछि विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गर्ने र त्यसपछि मात्रै समितिले कार्यविधि बनाएर काम अघि बढाउने भन्ने प्रावधानले प्रक्रियामा ढिलाई भएको देखिन्छ,’ सचिव भुषालले भन्नुभयो, ‘उक्त समितिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, वडा अध्यक्ष, उद्योग कार्यालयका प्रतिनिधिलगायत सदस्य रहने व्यवस्था छ । तर, भवन हस्तान्तरण भइसकेको करिब एक महिना हुनलाग्दा पनि समिति क्रियाशील हुन सकेको छैन । यस अवधिमा बजेटको अभाव र सरकारी फेरबदलजस्ता कारणले पनि काममा बाधा पुगेको बताइएको छ ।’
नयाँ सरकार गठन भएसँगै सम्बन्धित मन्त्रीले भवनको निरीक्षण गरी समन्वय बैठक डाकेर प्रक्रियालाई गति दिन चासो देखाएको उहाँको भनाइ छ । कार्यविधिमा भवनबाट प्राप्त हुने राजस्वको बाँडफाँड, मर्मतसम्भारको जिम्मा र भाडादरजस्ता महत्वपूर्ण विषयहरु टुङ्गो लगाउन बाँकी रहेको उहाँले बताउनुभयो ।
प्रदेश सरकारको लगानी, विद्यालयको जग्गा र स्थानीय तहको संलग्नता रहेको यो मोडालिटी आफैँमा नयाँ प्रयोग भएकाले यसको सफल कार्यान्वयन चुनौतीपूर्ण देखिएको उहाँले बताउनुभयो । उहाँका अनुुसार चार वर्षको लामो पर्खाइपछि अब नयाँ सरकार र मन्त्रीको पहलले उक्त भवनले सञ्चालनको बाटो तयार गर्नेछ ।











