हेटौँडा : मकवानपुरका क्रिकेटर शुभ कंशाकार नेपाल ‘ए’ टिममा पर्न सफल हुनुभएको छ । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले शनिबार सार्वजनिक गरेको नेपाल ‘ए’ मा मकवानपुरका कंशाकार पनि समेटिनु भएको हो ।
५ टी–२० खेल खेल्न नेपाल ‘ए’ भारत जाँदैछ । भारतको आसाम राज्यको टिमसँग गुवाहाटीमा अगस्ट २६ देखि सेप्टेम्बर ३ सम्म नेपाल ‘ए’ ले ५ टि–२० खेल्नेछ । क्यानले अनिल साहको कप्तानीमा नेपाल ‘ए’ को घोषणा गरेको हो । २५ वर्षीय दायाँ हाते व्याट्सम्यान शुभ पहिलो पटक राष्ट्रिय टिममा परेका हुन् । व्यावसायिक क्रिकेट खेल्ने क्रममा देशका विभिन्न स्थानमा भएका प्रतियोगिताका साथै जिल्ला र प्रदेश टिमबाट राम्रो प्रदर्शन गर्न सफल शुभले राष्ट्रिय ‘ए’ टिममा पनि राम्रो प्रदर्शनको आशा गरिएको छ ।
मकवानपुरका शुभ क्यानको ‘इ’ समूहमा सूचिकृत खेलाडी हुनुहुन्छ । उहाँलाई क्यानले मासिक २५ हजार रुपैयाँ तलब समेत प्रदान गर्दै आएको छ । यसअघि मकवानपुरबाट रिजन ढकाल राष्ट्रिय टिममा समावेश हुनुहुन्छ । रिजन अहिले टप इन्ड क्रिकेट खेल्न अष्ट्रेलिया पुग्नुभएको छ ।
अनिलको कप्तानीमा मकवानपुरका शुभसँगै नेपाल ‘ए’ मा अर्जुन घर्ती मगर तीर्थ राज दास, इशान पाण्डे, देव खनाल, सन्दिप जोरा, विवेककुमार यादव, पवन सर्राफ, बसिर अहमद, आकाश चन्द, कमल सिंह ऐरी, आदिल आलम अन्सारी, शेर मल्ल, युवराज खत्री र सागर ढकाल अटाएका छन् ।











