हेटौँडा : बागमती प्रदेश सरकारले एक वर्षको अवधिमा १ हजार बढी पर्यटन पूर्वाधार विकास गरेको छ । गत आर्थिक वर्षमा प्रदेश सरकार अन्तर्गतको पर्यटन विकास आयोजनाहरुबाट १ हजार ३१९ वटा पूर्वाधार निर्माणका काम गरिएको हो ।
प्रदेश सरकार अन्तर्गतको संस्कृति तथा पर्यटन मन्त्रालयबाट प्रदेशका १३ जिल्लामा मन्दिर ४९६ वटा निर्माण भएका छन् भने गुम्बा २१९ वटा बनाइएको छ । मन्त्रालयका अनुसार सो आर्थिक वर्षमा १५७ वटा पार्क, पदमार्ग ५१, किरियापुत्री भवन ३०, चर्च १९, मस्जिद ३ वटा निर्माण गरिएको छ । उक्त अवधिमा मसानघाट, पार्टी–पौवा, शौचालय, साँस्कृतिक सम्पदा, सामुदायिक भवनजस्ता पूर्वाधार ३४३ वटा पूर्वाधार निर्माण तथा व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सूचना अधिकारी अशेष खड्काका आनुसार बागमती प्रदेशको पर्यटन क्षेत्रलाई समावेशी, दिगो र आत्मनिर्भर बनाउने दिशामा सरकार अग्रसर रहेको छ । आगामी दिनहरुमा अझ प्रभावकारी पर्यटकीय योजनाहरु निर्माण गरेर उत्पादन र आर्थिक उपार्जनमा जोड्ने गरी अघि बढ्ने तयारी रहेको उहाँले बताउनुभयो । गत आर्थिक वर्ष २०८१/०८२ मा पर्यटन प्रवद्र्धन, अध्ययन–अनुसन्धान, साँस्कृतिक संरक्षण तथा पूर्वाधार विकासका क्षेत्रहरुमा उपलब्धीमूलक काम भएको उहाँले बताउनुभयो । प्रदेशको प्राकृतिक, साँस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण र उपयोगमार्फत दिगो पर्यटन विकास गर्ने उद्देश्यले प्रभावकारी योजनामा मन्त्रालय अघि बढेको उहाँले बताउनुभयो ।
मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीका अनुसार प्रत्यायोजित अधिकारका आधारमा मन्त्रालयले हाल क्षेत्रीय पर्यटन, भाषा, संस्कृति र धार्मिक सम्पदाको संरक्षण तथा प्रवद्र्धनका काम गर्दै आएको छ । उहाँका अनुसार गत वर्षमा हिमाली पर्यटन विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षासहित सिन्धुपाल्चोक स्थित डोल्मा खाङ हिमालको आरोहण रुट अन्वेषण गरिएको छ भने मन्त्रालयले प्रदेशको पर्यटन क्षेत्रलाई दीर्घकालीन रुपमा व्यवस्थापन गर्न १५ वर्षे पर्यटन विकास रणनीति तयार गरेको छ । प्रदेशमा रहेका धार्मिक र साँस्कृतिक सम्भावनाहरूलाई समेट्दै बौद्ध सर्किट स्थापनाका लागि समेत अध्ययन गरेको उहाँले बताउनुभयो ।
साँस्कृतिक विविधताको संरक्षण र अभिलेखीकरणतर्फ समेत प्रदेश सरकारले विशेष ध्यान दिएको उहाँले बताउनुभयो । प्रदेशमा बसोबास गर्ने दलित समुदायको संस्कृति अभिलेखीकरण र अध्ययन कार्य सम्पन्न गरिएको छ भने राजनीतिक इतिहास, फोटो दस्तावेज र साँस्कृतिक सम्पदाको संरक्षणका लागि राजनीतिक क्रान्ति संग्रहालय, कोट दरबार, नेपाल फोटो संग्रहालय तथा पर्यटन प्रवद्र्धन केन्द्र स्थापना गर्न आवश्यक योजना तथा मास्टर प्लान तयार गरिएको छ ।
प्रशासनिक कार्यलाई जनमुखी बनाउने उद्देश्यका साथ मन्त्रालयले सरकारी कामकाजमा स्थानीय भाषाको प्रयोगलाई प्रभावकारी बनाउने उद्देश्यले भाषाको मानकीकरण र त्यसका आधारमा पाठ्यक्रम विकास गरेको उहाँले बताउनुभयो । पर्यटन प्रवद्र्धनका लागि प्रविधिमैत्री सेवा विस्तारमा समेत मन्त्रालयले चासोका प्राथमिकता दिएको उहाँले बताउनुभयो । पर्यटकहरुको सहजताका लागि २ स्थानमा प्रविधिमैत्री पर्यटन सूचना केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको उहाँको भनाई छ । पर्यटकको सहजताका लागि चितवनको सौराहा र काठमाडौंको ठमेलमा पर्यटन सूचना केन्द्र स्थापना गरी काम गर्दै आएको उहाँले बताउनुभयो ।
‘मन्त्रालयले प्याराडाइज बागमती एप निर्माण अन्तिम चरणमा पु¥याएको छ । एपमा सूचना तथा जानकारी प्रविष्ट गर्ने काम भइरहेको छ । टुरिजम बागमती वेबसाइट निर्माणको काम पनि जारी छ’, सचिव सुवेदीले भन्नुभयो । ग्रामीण क्षेत्रमा पर्यटन विस्तारका लागि होमस्टे तथा कृषि पर्यटनको प्रवद्र्धन गर्नेगरी काम अघि बढाइएको छ भने उपत्यका बाहिरका १० जिल्लाको पर्यटकीय जानकारी समेटिएको ट्राभल बुक प्रकाशन गरिएको छ । १० प्रमुख पर्यटकीय गन्तव्यहरुबारे वृत्तचित्र निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्य मन्त्रालयले लिएको छ ।
उहाँका अनुसार झरना तथा जलाधार क्षेत्रमा पर्यटन सम्भाव्यता अध्ययन, दलित तथा लोपोन्मुख जातजातिको संस्कृति अभिलेखिकरण, रैथाने खानाको अध्ययन, पेटेन्ट दर्ता तथा संरक्षण कार्यको काम भइरहेको छ । मन्त्रालयले नयाँ पर्यटन गन्तव्य पहिचान, ब्रान्डिङ र गुरुयोजना निर्माणमा अनुसन्धानलाई प्राथमिकतामा रहेको उहाँको भनाई छ । स्थानीय र रैथाने खानाको साँस्कृतिक महोत्सव, लोपोन्मुख नृत्य, बाजा, संगीतको अभिलेखीकरण तथा प्रवद्र्धन, श्रष्टा सम्मान कार्यक्रम, चलचित्र, नाटक, गायन, नृत्य र वाध्ययन्त्रकलाका कलाकारहरुको सम्मान, मूर्त तथा अमूर्त कलाको संरक्षण तथा प्रवद्र्धन, मातृभाषा तथा संस्कृत भाषाको संरक्षण तथा साहित्य प्रवद्र्धनमा मन्त्रालयले विशेष ध्यान दिएको दावी गरिएको छ ।
मन्त्रालयले पर्यटन प्रवद्र्धनका लागि तामाङ र नेपाल भाषामा अध्ययन गरिरहेका विद्यार्थीलाई शोध सहयोग, प्रदेश भाषा दिवस, प्रादेशिक साहित्यिक महोत्सव जस्ता कार्यक्रमहरु सञ्चालन गरेको उहाँको भनाई छ ।
















