बेतिनी स्वास्थ्य चौकीमा भिडियो एक्सरे गर्दै स्वास्थ्यकर्मी ।

हेटौँडा : मकवानपुरको बागमती गाउँपालिका–६ स्थित बेतिनी स्वास्थ्य चौकीले बुधबार आफ्नो वार्षिक सेवा प्रवाहको विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा बेतिनी स्वास्थ्य चौकीबाट ८ हजार ३ सय सेवाग्राहीले सेवा लिएका छन् । जसमध्ये महिला ४ हजार ८ सय ११ जना र पुरुष ३ हजार ४ सय ९७ जनाले सेवा लिएको स्वास्थ्य चौकीले सामाजिक सञ्जालमार्फत विवरण सार्वजनिक गरेको छ ।

४ हजार ७ सय ९९ जना नयाँ सेवाग्राहीले सेवा लिएका छन् । जसमध्ये महिला २ हजार ८ सय ४९ र १ हजार ९ सय ५० जना रहेका छन् । त्यस्तै ओपिडि सेवा ५ हजार ३ सय १५ जनाले प्राप्त गरेका छन् । मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत ५ सय जनाले सेवा लिएको स्वास्थ्य चौकीले जनाएको छ । बेतिनी स्वास्थ्य चौकीमा ६६ जना महिलाहरुले सुत्केरी गराएका छन् भने एक वर्षभित्र ५३ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

स्वास्थ्य चौकीबाट १८ जना क्षयरोगका बिरामीले उपचार सेवा पाएका छन् । विद्यालय पोषण कार्यक्रम अन्तर्गत ५ वर्षमाथिका ५ सय ६४ जना विद्यार्थीलाई जुकाको औषधी वितरण गरिएको छ । यस्तै स्वास्थ्य चौकीमार्फत १ हजार २ सय ७३ जनाले प्रयोगशाला सेवा लिएका छन् ।