बहादुर सिंह लामा ।

हेटौँडा : बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामाले हालकै अवस्थामा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत प्रदान गर्न सक्ने अवस्था नरहेको बताउनुभएको छ । आफ्ना मागहरूमा तत्काल सहमति नजुटेको भन्दै विश्वासको मत बारे निर्णयमा पुग्न नसकेको उहाँले बताउनुभयो ।

आफ्ना पक्षका १४ जना सांसदको छलफल काठमाडौँमा जारी रहेको र विश्वासको मत प्रदान गर्ने विषयमा निचोडमा पुग्न बाँकी रहेको उहाँको भनाई छ । छलफल निरन्तर जारी रहेको र अझै केही समय लाग्ने उहाँले बताउनुभयो । छलफलको निष्कर्षअनुसार मुख्यमन्त्री लाई विश्वासको मत दिने वा नदिने तथा अन्य कुनै विकल्पमा अघि बढ्ने उहाँको भनाइ छ ।

‘हामी निष्कर्षमा पुगेका छैनौँ । हाम्रो छलफल जारी नै छ । केही मान्यज्यूहरूले अपमानित भएको महसुस गर्नुभएको छ ।तत्काल विश्वासको मत प्रदान गर्ने अवस्था उहाँहरुले देखाउनु भएको छैन यसै भन्ने अवस्था छैन।’ उहाँले भन्नुभयो ।

सांसद तिर्थ लामाका अनुसार काठमाडौं रहेर सरकार र पार्टीको निर्देशनका विषयमा छलफल भइरहेको छ । सबै सांसदले आफ्नो धारणा राखिराख्नुभएकाले निश्कर्ष आउन आझै केही समय लाग्ने उहाँले बताउनुभयो । निवर्तमान मुख्यमन्त्री लामा पक्षले आफ्ना तीनजना मन्त्री सरकारमा नियुक्त गरी शपथ ग्रहण गराउनुपर्ने माग राख्दै आएको छ । उक्त विषयमा लामा पक्षले पार्टी सभापति शेरबहादुर देउवालाई समेत ध्यानाकर्षण गराइसकेको जनाएको छ । देउवाबाट माग सम्बोधन हुने आश्वासन पाए पनि उहाँहरू काठमाडौँमा छलफलमा रहनुभएको हो ।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मङ्गलबार दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकबाट विश्वासको मत लिने कार्यसूची रहेको छ । गते साउन २० गते एमालेका २७ र कांग्रेसका ३७ सांसदको समर्थनमा नेपालको संविधानको धारा १६८ को २ बमोजिम सरकारको नेतृत्व गरेका बानियाँलाई सरकार टिकाउन ५६ सांसदको आवश्यकता पर्छ ।

बागमती प्रदेश सभामा ११० सांसदमध्ये प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रको २१ राप्रपाको १३ एकीकृत समाजवादीको ७ नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको दुई सांसद रहेका छन् ।