हेटौंडा : आयुर्वेद तथा बैकल्पिक चिकित्सालय हेटौंडाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । हेटौंडा–२ मा स्थित चिकित्सालयको भवन बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले आइतबार उद्घाटन गर्नुभएको हो ।
भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले बागमती प्रदेश सरकारले आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवालाई प्राथमिकतामा राखेको बताउनु भयो । बैकल्पिक चिकित्सा सेवालाई भविष्यमा थप प्रबद्र्धन गरिने उहाँले बताउनुभयो । उहाँले नवनिर्मित भवनले आयुर्वेदिक तथा अन्य बैकल्पिक स्वास्थ्य सेवा सहज बनाउन योगदान पुर्याउने बिश्वास व्यक्त गर्नुभयो । अस्पतालको भौतिक संरचना बिस्तारसँगै स्थानीय समुदायले गुणस्तीय सेवा पाउनुपर्नेमा मन्त्री थापाले जोड दिनुभयो ।
आर्थिक वर्ष २०७८/०७९ बाट सो भवनको डिपीआर तयार गरी निर्माण सुरु गरिएको सो भवन ७ करोड ५३ लाख लागतमा निर्माण भएको आयुर्वेद तथा बैकल्पिक चिकित्सालय व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष अर्जुन ढकालले बताउनुभयो । हाल जनशक्ति कमी भएपनि यसलाई व्यवथापन गरी आगामी आर्थिक बर्षभित्र १६ शैयासहित अन्तरंग सेवासमेत सञ्चालनमा ल्याउने योजना रहेको चिकित्सालयले जनाएको छ । चिकित्सालयमा एक जना नवौं तहको विशेषज्ञ चिकित्सकको दरबन्दी रहे पनि खाली रहेको छ ।
चिकित्सालयमा सामान्य आयुर्वेदअन्तर्गत पूर्वकर्म सेवा (शिरोधारा, मसाज, बाफ लिने), जलौका सेवा (जुकाबाट उपचार), अग्निकर्म सेवा (आगोबाट उपचार), फिजियोथेरापी सेवा, चाइनिज ट्रेडिसनल मेडिसिन (अकुपञ्चर), २३ प्रकारका निःशुल्क र अन्य सशुल्क औषधि वितरण सेवा, ल्याब सेवा, आहार बिहार परामर्श सेवा, स्तनपायी आमालाई दुग्धबद्र्धक औषधि वितरण सेवा, योग सेवालगायतका सेवा प्रदान हुँदै आएको छ । यहाँ दैनिक ५० देखि ७० जना बिरामीहरुलाई २ सय ५० वटासम्म सेवा दिँदै आएको चिकित्सालयका सूचना अधिकारी अशोककुमार झाले जानकारी दिनुभयो । पछिल्लो समय दीर्घरोगलगायतका बिरामीहरुमा आयुर्वेदिक उपचारप्रति चासो बढ्दै गएकोले बैकल्पिक चिकित्सातर्फ आकर्षित भइरहेको उहाँको दाबी छ ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्यहरु एकालाल श्रेष्ठ, प्रेमबहादुर पुलामी, मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, आयुर्वेद तथा बैकल्पिक चिकित्सालय व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष अर्जुन ढकाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।







