हेटौँडा : हेटौँडा–४ स्थित हेटौँडा स्कुल अफ म्यानेजमेन्टमा २१२औँ भानु जयन्ती कविता प्रतियोगिता गरेर सम्पन्न गरिएको छ । अन्तर कलेजस्तरीय कविता प्रतियोगिताका लागि २० गतेदेखि २६ गतेसम्म कविता माग गरिएकोमा जम्माजम्मी ८९ कविता प्राप्त भएका थिए भने तीमध्येबाट उत्कृष्ट १० लाई मात्र वाचनका लागि सहभागी गराइएको थियो ।
क्याम्पसका सहायक प्रमुख रामपण्डित खनालको प्रमुख आतिथ्य तथा नेपाली विषयका विभागीय प्रमुख देवराज तिवारीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा डा. नवीन नेपालले भानुभक्तको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्नुभएको थियो । म्यानेजमेन्टमा अध्ययनरत कक्षा १२ देखि स्नातकोत्तर तहसम्मका विद्यार्थीहरू बिच कविता प्रतियोगिता आयोजना गरिएको थियो । ८९ जना सहभागीका कविता सङ्कलन पश्चात तिनलाई कोडिङ गरी निर्णायककोमा पठाइएको थियो ।
प्रतियोगितामा कक्षा १२ की छात्रा प्रकृति पौडेलले प्रथम स्थान हासिल गर्दा क्रमशः रोजी सुवेदी द्वितीय, स्नेहा मैनाली तृतीय र कृतम दाहालले सान्त्वना स्थान प्राप्त गरेका थिए । उत्कृष्ट १० लाई प्रमाणपत्र दिइएको थियो भने क्रमशः प्रथमलाई १० हजार रुपैयाँ, द्वितीयलाई ७ हजार, तृतीयलाई ५ हार र सान्त्वनालाई २ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।










