मानव जीवनकै अभिन्न अंग बन्न थालेको सूचना तथा सञ्चार प्रविधिको प्रयोग व्यापक बनिरहेको छ । इन्टरनेटको मद्दतबाट प्रविधिको उपयोग गरेर धेरै काम गर्न सहज भएको छ । मोबाइल फोनसँगै सामाजिक सञ्जालको प्रयोग पनि उत्तिकै बढिरहेको छ । हातहातमा भएको मोबाइल फोनले हाम्रो जीवनलाई निकै सजिलो बनाएको भए पनि यसको दुरुपयोगको जोखिम पनि उत्तिकै देखिएको छ । इन्टरनेट र मोबाइल प्रविधिको प्रयोग गरेर हुने अपराधहरु बढेका छन् । यस्ता प्रविधिको दुरुपयोगबाट नयाँ–नयाँ कुरिति तथा कुलतहरु भित्रिरहेका छन् । मोबाइल तथा कम्प्युटरमा खेलिने खेल र सामाजिक सञ्जालको लतका कारण धेरै बालबालिका र युवा प्रभावित बनिरहेका छन् । यसको अत्यधिक प्रयोगले हाम्रो स्वास्थ्यमा पनि नकारात्मक असर परिरहेको छ ।
इन्टरनेटको प्रयोग गरेर हुने गरेका विभिन्न प्रकारका साइबर अपराधका घटना वर्षेनि बढ्दै गएको छ । सामाजिक सञ्जाल र इन्टरनेट प्रविधिमार्फत् हुने अनलाइन ठगीका घटना बढ्दै गएको प्रहरीको तथ्यांकले पुष्टि गर्दछ । मकवानपुर जिल्लामा पछिल्लो तीन वर्षमा अनलाइनमार्फत् ठगीसम्बन्धी उजुरी बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आर्थिक वर्ष २०७९/८० मा अनलाइन ठगीसम्बन्धी २५ वटा उजुरी परेकोमा २०८०/८१ मा ४४ वटा उजुरी परेको थियो । चालु आर्थिक वर्ष २०८१/८२ मा अनलाइन ठगीसम्बन्धी २१० उजुरी मकवानपुर प्रहरीमा दर्ता भएको छ । यस्तै, फेसबुक ह्याकिङसम्बन्धी उजुरी ५९५ वटा, फेक फेसबुक अकाउन्ट बनाई ठगिएका उजुरी १८२ वटा र टिकटकसहित अन्य माध्यमबाट ठगिने २४ उजुरी प्रहरीमा दर्ता भएका छन् । मोबाइल हराएको वा चोरी भएको निवेदन दुई हजार २४४ परेका छन्, जसमध्ये ४५७ वटा मोबाइल प्रहरीले फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।
मकवानपुर प्रहरीमा तीन वर्षमा ३२९ वटा अनलाइन ठगीसम्बन्धी उजुरी परेकोमा जम्मा ५३ वटा उजुरीको मात्र टुंगो लागेको छ । प्रहरीमा आइपुगेको उजुरीमध्ये करिब ८५ प्रतिशत अझै अनुसन्धानमै रहेको छ । प्रविधिको कम ज्ञान भएका व्यक्तिहरूलाई बढी जानकारी भएका व्यक्तिहरूले निशाना बनाउँदै आएको प्रहरीको भनाइ छ । अनलाइन ब्यापारको नाममा, स्क्रिन सेयर गराएर वा ईसेवा अपडेट गरिदिन्छु भन्दै ठगिएको उजुरी दैनिकजसो प्रहरीकहाँ आउने गरेको छ । नागरिकहरुले सतर्कता अपनाउन नसक्दा र सामान्य सावधानी नअपनाउँको धेरैजसो ठगीका घटना हुने गरेको प्रहरीको अनुभव छ । सामाजिक सञ्जाल र सूचना तथा सञ्चार प्रविधि चलाउनेहरुले आवश्यक सतर्कता नअपनाउँदा ठगहरूको जालमा परिरहेका छन् ।
कसैले अनलाइनमार्फत् कुनै प्रस्ताव राख्दा एकपटक गम्भीर भएर सोच्ने र त्यसको आधिकारिकता सुनिश्चित गर्न सकिएमा धेरै ठगीका घटना रोकिन सक्ने प्रहरीको भनाइ छ । साइबर अपराध र अनलाइन ठगीका उजुरी बढ्दै गए पनि प्रहरीसँग प्रविधिको कमी र स्रोतको अभावले अनुसन्धानमा ढिलाई हुने गरेको छ । सामाजिक सञ्जाल र प्रविधिको दुरुपयोग दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामा प्रहरीमात्रको प्रयास पर्याप्त नहुने विज्ञहरूको भनाइ छ । साइबर अपराध र अनलाइन ठगी नियन्त्रणका लागि नागरिक सतर्कता र कानुनी सुधार दुबै आवश्यक रहेको उनीहरूको तर्क छ । बढ्दो प्रविधिको दुरुपयोग र अनलाइन ठगीका घटना कम गर्न दीर्घकालीन योजना आवश्यक छ ।











