हेटौँडा : हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा द्वन्द्वग्रस्त इजरायल भ्रमणमा जानुभएको छ । २ वर्षदेखि हमाससँग र पछिल्लो २ महिनादेखि इरानसँग युद्धरत इजरायलको भ्रमणमा नगरप्रमुख लामा शनिबार बिहान १० बजे हवाई मार्ग हुँदै प्रस्थान गर्नुभएको हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले जानकारी दिनुभयो ।
‘नगरप्रमुख लामाको इजरायल भ्रमणको विषयमा ३ दिनअघि थाहा पाएको थिएँ’, प्रमुख प्रशासकीय अधिकृत गौतमले भन्नुभयो, ‘कहिले फर्कनु हुन्छ मेयरसाव भनी सोधेको थिएँ । साउन ५, ६ गते आउँछु भन्नुभयो ।’ यसअघि गत जेठ ३१ गते नै नगरप्रमुख लामा इजरायल जानुहुने कार्यतालिका थियो । तर, हमाससँग युद्ध गरिरहेको इजरायलले इरानसँग पनि युद्ध सुरु गरेपछि नगरप्रमुख लामाको इजरायल भ्रमण स्थगित भएको थियो ।
यसअघि इजरायलको विदेश मन्त्रालयको निमन्त्रणामा मिनी एक्स्पो २०२५ मा सहभागी हुन इजरायल जान लाग्नुभएकी नगरप्रमुख लामा अहिले पनि सोही कार्यक्रममा वा अरु कुनै कार्यक्रममा हो भन्ने यकिन छैन । प्रमुख प्रशासकीय अधिकृत गौतमले नगरप्रमुख लामा इजरायल कुन कार्यक्रममा सहभागी हुन जानु भएको भन्ने यकिन नभएको बताउनुभयो । नगरप्रमुख लामाले उपप्रमुख राजेश बानियाँलाई कार्यवाहक नगरप्रमुखको जिम्मेवारी दिएर जानुभएको बुझिएको छ ।
नगरप्रमुखको भ्रमणको विषयमा उपमहानगरपालिकाले भने औपचारिकरुपमा कुनै जानकारी गराएको छैन । यसअघि पनि नगरप्रमुख लामा आधा दर्जन मुलुकको भ्रमण गरिसक्नु भएको छ । यसअघिका भ्रमणका विषयमा पनि जानकारी गराउने चलन रहेको छैन ।











