सरकारले नेपालमा समुदायस्तरमा कोरोना नफैलिएको दावी गरे पनि अवस्था भने भिन्न बन्दै गएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्डले भने अनुसारको परिस्थिति नपुगे पनि अवस्था जटिल बन्दै गएको आँकलन गर्न सकिन्छ । लकडाउन खुकुलो बनाएपछि परिस्थिति बिग्रँदै गएको देखिन्छ । बन्दाबन्दीको अवस्थामा भन्दा कोरोना सङ्क्रमणको दर अहिले बढेको छ । त्यसैले अवस्थाको आँकलन गरी केही स्थानीय तह तथा प्रशासनले बन्दाबन्दी तथा निषेधाज्ञा जारी गरेका छन् । पछिल्लो समय कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्न थालेपछि सन्त्रासको वातावरण बन्दै गएको छ । यो रोगबाट बच्ने र नियन्त्रणको प्रमुख उपाय शारीरिक दूरी कायम गर्दै अर्को व्यक्तिको नजिक नजानु नै हो ।
आफु र आफ्नो परिवारलाई कोरोनाबाट बचाउन दूरी कायम गर्नु अत्यावश्यक छ । आफु बाहेक अरु सबै कोरोनाबाट सङ्क्रमित छन् भन्ने सोचाई राख्ने हो भने आफ्से आफ दूरी कायम हुन जाने छ । त्यस्तै अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कने, छरछिमेकी, साथीभाइ, आफन्तसँग गफीन बन्द गर्ने र घर भित्रै बस्ने अभ्यासको विकास गर्नु पर्दछ । विदेश, देश, प्रदेश, जिल्ला, स्थानीय तह, टोल र छिमेक हुँदै आफ्नै आँगनमा कोरोना आइसकेको छ । त्यसैले सबै नागरिक आफ्नै लागि भए पनि जिम्मेवारीपूर्वक होशियार हुनै पर्दछ । तर मानिसले अति सामान्य रुपमा लिएको देखिन्छ । अनावश्यक रुपमा बजार डुल्ने, मास्क नलगाउने र दूरी कायम नगर्दा जोखिम बढ्दै गएको छ ।
बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोनाको सङ्क्रमण दिनहुँ बढ्दै गएको छ । सङ्क्रमित थपिँदै गएका छन् । तीन दिनको अवधिमा मकवानपुरमा १० जना बढीमा सङ्क्रमण देखिएको छ । त्यस मध्ये पनि हेटौंडा उपमहानगरपालिका र वरपरका पालिकाहरुमा बढी देखिएको छ । यो संख्या बढ्ने अवस्था छ । समयमै सतर्कता नअपनाउने हो भने छिमेकी जिल्लाको बीरगन्जको अवस्थामा हेटौंडामा नहोला भन्न सकिँदैन । त्यसैले सम्भावित क्षेत्रहरुमा प्रशासनले निगरानी बढाउनु पर्दछ भने नागरिकले पनि राज्यको निर्देशन अनिवार्य पालना गर्नु पर्दछ । जिल्ला कमाण्ड पोष्टले दिएको निर्देशनदेखि सरकारले गरेका निर्णयहरुको पालना नगरी अटेर गर्नेलाई कानून अनुसार प्रशासनले कारवाही गर्नु पर्दछ ।
जिल्ला कमाण्ड पोष्ट मकवानपुरले केही महत्वपूर्ण निर्णय गरेको छ । सङ्क्रमित फेला परेका सार्वजनिक भवन वा संस्थाहरुलाई निश्चित अवधिका लागि सिल गर्ने, व्युटिपार्लर तथा सैलुनहरु बन्द गराउने निर्णयको पालना गर्नु आवश्यक छ । नागरिक सुरक्षा भन्दा आर्थिक कारोबार ठूलो हुन सक्दैन । व्यवसायका नाममा जोखिम बढाउने अधिकार कसैलाई छैन । सङ्क्रमणबाट आतंकित बन्ने भन्दा सहज रुपमा आवश्यक सहयोग र समन्वयका साथ जोगिन सकिन्छ । । स्थानीय तह र प्रशासनले अनुगमन नगर्दा कतिपय व्यक्तिहरुले अटेर गरेको अवस्था छ । त्यसैले स्थानीय प्रशासन अब कडा रुपमा प्रस्तुत हुनै पर्दछ । केही व्यक्तिहरुको हेलचेक्र्याईँका कारण आम नागरिकको स्वास्थ्य जोखिम बढाउन दिनु हुँदैन । यस्तै कोरोनाको केन्द्र बन्दै गएको तराई क्षेत्रबाट मानिसहरुको हेटौंडा प्रवेश पूर्ण रुपमा रोकिनु पर्दछ भने स्थानीय रुपमा सन्चालन हुन थालेका सवारीका साधन पनि आवश्यक परे बन्द गरेर भए पनि जोखिम न्यूनीकरण गरिनु आवश्यक छ ।