हेटौँडा : आगामी आम निर्वाचन २०८४ सालमा हुनेछ । तर, हेटौँडाका विद्यालयमा भने शुक्रबार मात्रै ३ वटा विद्यालयमा निर्वाचन सम्पन्न भएको छ । हेटौँडा–१ स्थित अमर माध्यमिक विद्यालय, हेटौँडा–४ स्थित श्रमिक माध्यमिक विद्यालय, हेटौँडा–१७ स्थित बालबोध माध्यमिक विद्यालयमा विद्यार्थी प्रतिनिधि छनोट गर्न निर्वाचन सम्पन्न भएको छ ।
विद्यार्थीमा निर्वाचनको प्रक्रियाबारे सचेतना अभिवृद्धि गर्न, गराउन तथा विद्यालय व्यवस्थापन समितिमा विद्यार्थी प्रतिनिधिको रुपमा समेत सहभागी गराई विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासमा समेत सहयोग पुग्ने अपेक्षासहित निर्वाचन कार्यक्रमको आयोजना गरिँदै आएको छ । निर्वाचनको प्रक्रियालाई प्रभावकारी र वास्तविक गराउन विद्यालयले निर्वाचन आयोगको कार्यालयबाट आम निर्वाचनमा प्रयोग हुने निर्वाचन सामग्री ल्याएर प्रयोग गर्ने गरेको छ ।
शुक्रबार अमर माविमा विद्यालय कप्तान र उपकप्तानसहित कक्षा ४ देखि १० सम्म कक्षागत एकजना छात्र र एकजना छात्रा मनिटर चयनका लागि निर्वाचन कार्यक्रम सम्पन्न भएको छ । अमर माध्यमिक विद्यालयको कप्तानमा ८ कक्षाका गणेश रसाईली निर्वाचित हुनुभयो भने उपकप्तानमा कक्षा–९ का सुयोग सापकोटा निर्वाचित हुनुभएको छ । यस्तै हेटौँडा–१७, हटियास्थित बालबोध माध्यमिक विद्यालयमा भएको निर्वाचनबाट कप्तानमा लक्ष्मण रुम्बा चयन हुनुभएको छ । यस्तै विद्यालयको उपकप्तानमा क्रिष्टिना गोले निर्वाचित हुनुभएको छ ।
विद्यालयमा विद्यार्थीको निर्वाचन कार्यक्रममा शिक्षकहरुले निर्वाचन आयोगको भूमिका निर्वाह गर्नुभएको थियो । निर्वाचन प्रक्रियामा विद्यार्थीलाई प्रशिक्षित गराउँदै उम्मेदवारी दर्तादेखि प्रचारप्रसार लगायत सबै कुरा सिकाइने र यसबाट विद्यार्थीले भोलि बालिग भएपछि आफ्नो मताधिकार सही ढंगबाट प्रयोग गर्न सक्ने अपेक्षा गरिएको श्रमिक माध्यमिक विद्यालयका प्रधानाध्यापक श्रीराम दहालले जानकारी दिनुभयो । निर्वाचन प्रक्रियाले विद्यार्थीमा आत्मवल बढ्नुका साथै नेतृत्व क्षमता समेत विकसित भएको अमर माध्यमिक विद्यालयकी प्रधानाध्यापक मालती उप्रेती बताउनुहुन्छ ।
केही समयअघि हेटौँडा–११ स्थित त्रिभुवन माध्यमिक विद्यालय, हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कुल, सिद्धार्थ मावि, हेटौँडा–५ स्थित जीएस निकेतन मावि, हेटौँडा–५ स्थित सिद्धार्थ शिशु सदन, हेटौँडा–७ स्थित तासिर बोर्डिङ स्कूल, हेटौँडा–९ स्थित प्रगति मावि, हेटौँडा–१८ स्थित मकवानपुर बालविद्या सदनमा विद्यार्थी प्रतिनिधि चयनका लागि निर्वाचन भएको थियो ।











