हेटौँडा : मिडिया अनुगमनको सिलसिलामा प्रेस काउन्सिल नेपालको एक टोली शुक्रबार बागमती प्रदेशको राजधानी हेटौँडा आइपुगेको छ । मिडियाको समसामयिक अवस्था, आचारसंहिता कार्यान्वयन, चुनौति र नियमनको पक्षमा स्थलगत अध्ययनका लागि टोलीले नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको सभाहलमा स्थानीय मिडियाकर्मीहरूसँग छलफल गरेको हो ।
छलफलका क्रममा प्रेस काउन्सिल नेपालको आचारसंहिता अनुगमन शाखा प्रमुख महेन्द्रराज सिंहले देशभर न्यु मिडियाको संख्या दिनप्रतिदिन बढेसँगै आचारसंहिता उल्लंघनको दर पनि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशभर मिडियाको संख्या दिनप्रतिदिन बढ्दो छ, तर आचारसंहिताको पालनामा चुनौति पनि त्यत्तिकै बढिरहेको छ । विशेषतः न्यूमिडिया (डिजिटल प्लेटफर्महरू) तर्फ आचारसंहिता उल्लंघनको दर बढी देखिएको छ ।’
उहाँका अनुसार हालसम्म काउन्सिलमा ४ हजार ६ सयभन्दा बढी अनलाइन न्युज पोर्टल दर्ता भइसकेका छन् । आर्थिक वर्ष २०८०÷८१ को असार मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालमा ४ हजार ६ सय ३२ वटा अनलाइन मिडिया, ८ हजार १० पत्रपत्रिका, १ हजार १ सय ९३ रेडियो र २ सय ४६ टेलिभिजन सञ्चारमाध्यमहरू दर्ता भइसकेका छन् ।
प्रेस पास लिने पत्रकारको संख्या ३३ हजार ९ सय २८ रहेको उहाँले जानकारी दिनुभयो । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म प्रेस काउन्सिलमा २ सय ४६ वटा उजुरी दर्ता भएका छन्, जुन ३ सय ४६ वटा सञ्चारमाध्यमविरुद्ध परेको सिंहले जनाकारी दिनुभयो । काउन्सिलले २ सय ९८ वटा सञ्चारमाध्यमलाई स्वअनुगमनको आधारमा कारबाहीसमेत गरिसकेको छ भने ११ वटा मिडियालाई अवज्ञाकारी ठहर गर्दै कालोसूचीमा राखिएको प्रमुख सिंहले बताउनुभयो । उहाँका अनुसार नेपालभित्र प्रसारण नगर्न सिफारिस गरिएका मिडियाको संख्या २ वटा रहेको छ ।
छलफलका बोल्नुहुँदै सिंहले काउन्सिलबाट हुने पत्राचारलाई सहज रुपमा लिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामी कसैलाई ठूलो वा सानो भन्ने दृष्टिकोण राख्दैनौं । कानुन, कार्यविधि र आचारसंहिता सबैका लागि समान छन् । मिडियालाई अझ प्रभावकारी, व्यवस्थित र विश्वसनीय बनाउने दिशामा हामीले निरन्तर काम गरिरहेका छौं ।’ छलफलमा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले हालको अवस्था मिडियाका लागि चुनौतीपूर्ण रहेको बताउनुभयो । उहाँले एकातिर आर्थिक संकट, अर्कोतर्फ नागरिकको विश्वास गुमाउँदै गएको अवस्था रहेकाले मिडियाले सूचना प्रवाह मात्र होइन, जनताको विश्वाससमेत निर्माण गर्नुपर्नेमा जोड दिनुपर्ने बताउनुभयो ।
अनुगमनका क्रममा सिंहले जिल्लास्तरीय मिडियाको अवस्थाबारे पनि जानकारी दिनुभएको थियो । उहाँले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई उद्घृत गर्नुहुँदै मकवानपुर जिल्लामा हालसम्म १ सय ५१ वटा मिडिया दर्ता भएको र ती मध्ये २१ वटा सञ्चारमाध्यम मात्रै जिल्लाबाट वर्गीकरण प्रक्रियामा सहभागी भएको जानकारी दिनुभयो । उहाँले अनुगमन र वर्गीकरण नियमित रुपमा हुन आवश्यक रहेको बताउनुभयो । काउन्सिलले सामाजिक सञ्जालमार्फत सञ्चालित युट्युब, फेसबुक र टिकटक जस्ता प्लेटफर्महरूलाई समेत अनुगमन दायरा भित्र ल्याइसकेको भएपनि न्यूमिडिया सम्बन्धी विशेष कानुन नहुनु अझै पनि ठूलो समस्या रहेको बताउनुभयो । अनुगमन टोलीमा काउन्सिलका प्रशासन सहायक मदनकृष्ण सिलवालको समेत उपस्थिति रहेको थियो ।










