हेटौँडा : बागमती प्रदेश सरकारको नीति कार्यक्रम आगामी जेठ १४ गते आउने भएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रम पेश गर्न प्रदेशसभाको बैठक जेठ १४ गते १ बजेका लागि आव्हान गरिएको छ ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार बैठकमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आगामी आर्थिक वर्ष २०८२/०८३ वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । सरकारको नीति कार्यक्रम प्रस्तुत गर्न सभामुख पाठकले प्रदेश प्रमुख देवकोटालाई औपचारिक पत्राचार समेत गरिसकेको छ । सभामुख पाठकले उक्त दिन प्रदेशसभाका सदस्यलाई औपचारिक पोशाकमा उपस्थित हुन रुलिङ गर्नुभएको छ । प्रदेशको समग्र विकास तथा आर्थिक क्षेत्रको मेरुदण्डको रुपमा रहेको कृषि, पर्यटन, शिक्षा र रोजगारीलाई उच्च प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले जानकारी दिनुभएको छ ।
सरकारले निर्माण गरेका नीति तथा कार्यक्रम अनुसार नयाँ ढंगका कार्यक्रम ल्याउने तयारीमा रहेको उहाँको भनाइ छ । भद्दा र नारा मात्रै समेटिएको नीति कार्यक्रमको विकल्पमा प्रभावकारी र उपलब्धीमुलक क्षेत्रमा लगानी गर्नेगरी सरकारले तथ्यपरक हुनेगरी तयारी गरेको उहाँले बताउनुभयो । सरकारले लगानीको मोडल तय गर्ने र लगानी बोर्ड निर्माण गरेर अघि बढ्ने तयारी रहेको मुख्यमन्त्री लामाले स्पष्ट पार्नुभयो । यसअघि प्रदेशसभाको मंगलबार बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता माथि प्रदेश सभाको बुधबार र बिहीबार बसेको बैठकमा छलफल भएको थियो ।











