हेटौँडा : हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलमा विद्यालय कप्तान र उपकप्तानसँगै ४ वटा सदन र ४ वटा क्लबको कप्तान, उपकप्तान चयनका लागि शुक्रबार निर्वाचन भएको छ । विद्यार्थीलाई निर्वाचनको प्रक्रियाबारे जानकारी गराउन तथा विद्यालयका प्रतिनिधि विद्यार्थी चयन गर्न निर्वाचन गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयले कक्षा–६ देखि १० सम्मका ६ सय ७० जना विद्यार्थीले मतदान गर्ने व्यवस्था गरिएको जनाएको छ । बिहान साढे ७ बजेबाट सुरु भएको मतदान कार्यक्रम बिहान ११ बजे सम्पन्न भएर मतगणनाको कार्य भइरहेको छ । विद्यालय कप्तानमा कक्षा–९ का दीक्षान्त लामा र आकांक्षा लामा उम्मेद्वार छन् । विद्यालय शिक्षकहरुले निर्वाचन अधिकृतको भूमिका निर्वाह गरेका छन् भने स्वयम्सेवकको रुपमा स्काउटका विद्यार्थी सहभागी छन् । कक्षा–६ देखि कक्षा–९ सम्मका विद्यार्थी उम्मेदवार हुन पाउने व्यवस्था गरिएको विद्यालयका प्रिन्सीपल विनोद सुवेदीले जानकारी दिनुभयो । १८ पदका लागि ५० जना विद्यार्थीको उम्मेदवारी रहेको छ ।

निर्वाचन आयोगको कार्यालयबाट आम निर्वाचनमा प्रयोग हुने सामग्री नै प्रयोग गरेर निर्वाचन गरिएको छ । विद्यालय कप्तानका उम्मेदवार दीक्षान्त लामाले विद्यालयमा यस वर्ष पनि बुकलेस फ्राइडे कार्यक्रमलाई निरन्तरता दिन, पठनपाठनसँगै विद्यार्थीका लागि खेलकुदका कार्यक्रम पनि आयोजना गर्न, गराउन विद्यालय प्रशासनलाई आग्रह गरिने बताउनुभयो । विद्यालय कप्तानकै अर्की उम्मेदवार आकांक्षा लामाले पनि खेलकुद र साँस्कृतिक कार्यक्रमलाई जोड दिन विद्यालय प्रशासनलाई आग्रह गर्ने बताउनुभयो ।












