हेटौंडाः मानव अधिकारका लागि महिला एकल महिला समूह मकवानपुरको प्रथम जिल्ला अधिवेशन शनिबार हेटौंडामा भएको छ । हेटौंडा–११ स्थित संस्थाको आफ्नै भवनमा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्य रहेको थियो ।
अधिवेशनमा मानव अधिकारका लागि एकल महिला समूहकी सचिव शारदा चौलागाईले समूहले हालसम्म गरेका कार्यको समिक्षा गर्नुका साथै भावी योजनाहरु प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा गत आर्थिक वर्ष २०७६/७७ मा समूहले ९ वटा वडाहरुमा समूह गठन, वडा नम्बर १, ६, ९ र १८ मा महिलालाई कानूनी सचेतना कार्यक्रम, एकल महिलाको हकहितका लागि सरकारको ध्यानाकर्षण, जीविकोपार्जनका लागि एकल महिलालाई गाई अनुदान, कुखुरापालन गर्न अनुदान दिने कार्यहरु गरिसकेको सचिव चौलागाईले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षमा जिल्ला भित्र रहेका समूहलाई सदस्यता कार्ड वितरण गर्ने, आयमुलक तालिम सञ्चालन गर्ने, नेतृत्व विकासका कार्यक्रम, अपाङ्गमैत्री कार्यक्रम संचालन गर्ने, एकल महिलाका जेहेन्दार छोराछोरीका लागि शिक्षामा सहयोग गर्ने जस्ता कार्ययोजनाहरु रहेको समूहकी सचिव चौलागाईले बताउनुभयो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामाले एकल महिलाको हकहितका लागि सदैव साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कार्यक्रममा समूहको वार्षिक आय–व्यय विवरण समेत पेश गरिएको थियो । मानव अधिकारका लागि एकल महिला समूहकी अध्यक्ष टिका पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा धौलागिरी समाजका अध्यक्ष रेशम श्रेष्ठ, बागमति प्रदेश एकल महिला समूहकी अध्यक्ष बिष्णु पाण्डे, ११ नम्बर वडाका जनप्रतिनिधि र एकल महिला सञ्चालक समितिका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियोे ।