हेटौंडाः मकवानपुर जिल्लाको उत्तरीक्षेत्र थाहा नगरपालिका वडा नम्बर ११, टिस्टुङस्थित बागेश्वरी माविको नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । २०७२ सालको भूकम्पले विद्यालय भवन क्षति पुर्‍याएपछि जापान सरकारको सहुलियत ऋण सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिरणमार्फत निर्माण भएको भवन शुक्रबार हस्तान्तरण गरिएको हो । जापान सरकारको ऋण सहयोगमा मकवानपुरमा निर्माण गरिएका ४१ वटा विद्यालय भवन मध्ये बागेश्वरी माविको भवन सबैभन्दा ठूलो हो ।

बागेश्वरी माविको नवनिर्मित भवनको दृश्य ।

बागेश्वरी माविमा कुल २९ कोठे भवन निर्माण भएको छ । ३ तल्लाको ३ वटा भवन निर्माण गरिएको छ भने विद्यालयको सुरक्षाका लागि ग्याबिन पर्खाल, शौचालय, पर्खाल निर्माण गरिएको छ । कुल ९ करोड ६२ लाख ३१ हजार रुपैयाँमा स्वच्छन्द खानी निर्माण सेवाले विद्यालय निर्माण गरिदिएको हो । निर्माण कम्पनिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मकवानपुरका प्रमुख बद्रिबहादुर पाठकलाई हस्तान्तरण गरिएको भवन पाठकले जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललाई हस्तान्तरण गरिएको थियो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलालमार्फत थाहा नगरपालिकाका मेयर लबशेर विष्टलाई र मेयर विष्टले वडा अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरणमान बललाई हस्तान्तरण गरिएको छ ।

जापान सरकारको सहुलियत ऋणमा मकवानपुर जिल्लामा निर्माण हुने कुल ४१ विद्यालय मध्ये बागेश्वरी मावि २७ औं विद्यालय हो । निर्माण कम्पनिले निर्धारित समयभन्दा छिटो भवन निर्माण कार्य सम्पन्न गरिदिएको जिल्ला आयोजना कार्यान्वयन इकाई मकवानपुर (शिक्षा) का प्रमुख बद्रिबहादुर पाठकले जानकारी दिनुभएको छ । बागेश्वरी माविमा पाँच सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।