हेटौंडाः समाजमा महिलामाथि हुने हिंसा सामान्य जस्तै बनिरहेको छ । डेढ महिनाअघि हेटौंडा–४ की सुस्मिता केसीको हत्या भयो, केही दिनअघि कैलाश गाउँपालिकाकी ६ वर्षीया बालिकामाथि बलात्कार भयो । केहीदिन अघि मात्रै श्रीमति हत्या गरी आगो लगाएर नष्ट गरेका रञ्जन कोइरालालाई सर्वोच्च अदालतले कैद सजाय घटाएर रिहाई ग¥यो । यसै साता काठमाडौंमा एक युवती माथि एसिड प्रहार भयो । यस्तै दुखद् घटनालाई देखेर निराश बनेका अधिकारकर्मीहरुको सञ्जाल मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको सञ्जाल मकवानपुरले बुधबार हेटौंडामा प्रदर्शन गरेका छन् ।
हेटौंडाको बुद्धचोकमा प्रदर्शनमा उत्रिएका महिला अधिकारकर्मीहरुले मेरो शरीर मेरो अधिकार, फैसलामा न्याय पाउँ, बालबिवाह अन्त्य गरौं, एसिड प्रहार गर्नेलाई कारवाही गर, पीडकलाई सजाय पीडितलाई न्याय, बालबालिकाको ईच्छा बिवाह होइन शिक्षा लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए । प्रदर्शनमा सहभागी मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको सञ्जाल मकवानपुरकी संयोजक आरती पाठकले लैंगिक हिंसा मात्रै नभई सबैखाले हिंसाको विरोधमा मौन प्रदर्शन गरिएको बताउनुभयो । प्रदर्शनमा सहभागी सबैले एउटा एउटा नारा लिएर शान्तिपूर्ण प्रदर्शन गरेको पाठकको भनाइ छ ।
यस्तै प्रदर्शनमा सहभागी उषा मगरले महिला हिंसाका घटना पुरुषवादी सोचका कारण भइरहेको र हिंसा गर्नेमाथि कडा भन्दा कडा कारवाही हुनुपर्ने बताउनुभयो । अर्का सहभागी सुवास चन्द्र इटेनीले पनि हिंसाका घटना हुनुमा पुरुषवादी सोच नै प्रमुख भएको मान्नुहुन्छ । प्रदर्शनमा सहभागी राधिका चौलागाईले हिंसाविरुद्ध सरकारको नीति, नियम भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्नुले हिंसाका घटना भइरहेको बताउनुभयो । अधिकारकर्मी शान्ति कार्कीले कानून कार्यान्वयनमा सवल हुनुपर्ने उल्लेख गर्नुहुँदै नागरिकको सोचाईमा परिवर्तन जरुरी भएको बताउनुभयो ।