हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका बजेटका योजनाको अनुगमन गर्नुभएको छ । मंगलबार मकवानपुरको उत्तरीक्षेत्र थाहा नगरपालिकामा प्रदेश सरकारको बजेटमा सञ्चालन भइरहेका योजनाको अनुगमन गर्नुभएको हो । अनुगमनको क्रममा सञ्चालन रहेका योजनाहरु प्रभावकारी भएको मुख्यमन्त्री पौडेलले बताउनुभयो । बागमती प्रदेशबाट थाहानगरका लागि विनियोजित बजेटले संचालन भएका योजनाहरु नतिजामुखी भएको मुख्यमन्त्री पौडेलको भनाइ छ ।

मुख्यमन्त्री पौडेलले थाहा स्मारक पार्क, थाहा शीतभण्डार, थाहा बसपार्क, आँखा उपचार केन्द्र लगायतको अनुगमन गर्नुभएको छ । थाहा नगरपालिका पर्यटकीय नगर भएकाले पर्यटन प्रवद्र्धनका लागि थाहा स्मारक पार्कले महत्वपूर्ण भूमिका निर्वाह गर्ने मुख्यमन्त्री पौडेलले बताउनुभएको छ । गत आर्थिक वर्षबाट मात्र निर्माण प्रारम्भ भएको पार्कको निर्माण सकेर आम्दानीको स्रोतको रुपमा अघि बढाउन मुख्यमन्त्री पौडेलले सुझाव दिनुभयो । थाहा स्मारक पार्क परिसरमा संचालनको अन्तिम तयारीमा रहेको “कोसेली घर” लाई तत्काल संचालन गर्नका लागि उहाँले नगरपालिकालाई आग्रह गर्नुभएको छ । पर्यटन प्रवद्र्धनमा नगरले प्रभावकारी योजना सञ्चालन गरेको र यसलाई पूर्णता दिन आफ्नो तर्फबाट सहयोग हुने मुख्यमन्त्री पौडेलले बताउनुभएको छ ।

थाहा नगरपालिकाले निर्माण थालेको “बसपार्क निर्माणको एप्रोच” अरुका लागि सिकाइको केन्द्र भएको मुख्यमन्त्री डोरमणि पौडेलले बताउनुभयो । बागमती प्रदेश सरकारको सहयोगमा थाहा नगरपालिका–४ थानाबजारमा बसपार्क निर्माण भइरहेको छ । थाहा बसपार्क निर्माणका लागि निर्माणस्थलसम्मको सडक स्थानीयले नै सहयोग गरेका हुन् । नगर प्रमुख लवशेर विष्टले बढी जग्गा हुनेले कम जग्गा हुनेलाई जग्गा दिएर बसपार्कसम्म बाटो पु¥याइएको जानकारी दिनुभयो । विकासको जस स्थानीयलाई दिनुपर्ने मेयर विष्टको भनाइ छ । एक इन्च जग्गाको कारण वर्षैसम्म मुद्दा चल्ने गरेको प्रसंग कोट्याउँदै मुख्यमन्त्री पौडेलले थाहा नगरका नागरिक र जनप्रतिनीधिको काम प्रंसशनीय भएको बताउनुभयो । अनुमानित ७ करोड लागत रहेको बसपार्क निर्माणका लागि बजेट अपुग भएको नगर उपप्रमुख खड्ग गोपालीले बताउनुभयो । थाहा नगरपालिकाको गौरवको योजनाको रुपमा रहेको थाहा शीतभण्डारको बागमती प्रदेश प्रमुख विष्णु प्रसाई सहितको टोलीले अनुगमन गर्नुभएको छ । अनुगमनमा मुख्यमन्त्री डोरमणि पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललगायतको विशिष्ठ व्यक्तिहरुको सहभागिता थियो ।

अनुगमनमा प्रदेश प्रमुख प्रसाईले थाहानगरको मुख्य आर्थिक स्रोतको रुपमा शीतभण्डारले ठूलो मद्दत पु¥याउने धारणा राख्नुभयो । मुख्यमन्त्री पौडेलले प्रदेशका अन्य जिल्लाहरुमा पनि शीतभण्डारको काम भैरहेकोमा थाहाको काम द्रुत रहेको उल्लेख गर्नुभयो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले तरकारीको पकेट क्षेत्रमा शीतभण्डार बन्नु प्रभावकारी काम भएको बताउनुभयो । उहाँले थाहानगरले सञ्चालन गरेको योजनाहरुको प्रशंसा गर्नुभयो । अनुगमनकै क्रममा शीतभण्डार निर्माण भएपनि अन्य उपकरणको अभाव रहेको नगर प्रमुख लवशेर विष्टले बताउनुभयो ।

यसैबीच थाहा नगरपालिकामा सञ्चालन भएको आँखा उपचार केन्द्र असाध्यै प्रभावकारी भएको मुख्यमन्त्री पौडलेलले बताउनुभएको छ । आँखा उपचार केन्द्रको विषयमा जानकारी लिएपछि मुख्यमन्त्री पौडेल २०७५ फागुनमा आफैंले उद्घाटन गरेको आँखा उपचार केन्द्रको सेवाप्रवाह बुझ्नको लागि उपचार केन्द्रमै पुग्नुभएको हो । उहाँले सेवा प्रवाहको विषयमा उपचार केन्द्रका प्रमुखसँग जानकारी लिनुभएको थियो । आँखा उपचार केन्द्रको पूर्वाधार विकासमा नगरले गरेको कामको जिल्ला समन्वय प्रमुख खुलालले प्रशंसा गर्नुभयो । प्रमुख खुलालले भन्नुभयो, “आँखा उपचारकै लागि काठमाडौं, हेटौंडा पुग्नुपर्ने बाध्यता अन्त्य गर्ने थाहानगरको कार्य जनमैत्री र जनमुखी छ ।”

मुख्यमन्त्री पौडेलले थाहानगरका सहकारीहरुलाई आफ्नो उद्देश्य अनुसार सञ्चालन गर्न सुझाव दिनुभएको छ । सहकारी पैसा कारोबार गर्ने संस्था नभएकोले यसले उत्पादनमा पनि जोड दिनु अहिलेको आवश्यकता रहेको उहाँले औंल्याउनुभयो । प्रदेश सहकारी ऐन बनिसकेकोले त्यसलाई पनि अवलम्बन गर्न मुख्यमन्त्री पौडेलको सुझाव दिनुभयो । थाहा नगरपालिकाको पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको हलमा संक्षिप्त छलफलमा मुख्य मन्त्री पौडेलले भन्नुभयो, “उद्देश्य र नीति अनुसार काम गर्नुहोस् हामी सहयोग गर्छौ ।”
थाहानगरको त्रिवेणीधामको निर्माणाधिन अवस्थाको समेत अनुगमन भएको कार्यक्रम तथा विभिन्न छलफलमा सहभागी प्रदेश प्रमुख विष्णु प्रसाई, मुख्यमन्त्री डोरमणि पौडेल, जिल्ला समन्वय प्रमुख रघुनाथ खुलालले थाहा नगरपालिकाको विकास कार्य गर्ने तौर–तरिका तथा कार्यान्वयन विधि प्रभावकारी भएको बताउनुभएको थियो । योजना अनुगमनसँगै दीगो र समृद्धिसँग जोड्ने थाहाको प्रयासको प्रशंसा गरेका छन् । अनुगमनमा थाहा नगरपालिकाका नगर प्रमाुख लवशेर विष्ट, उपप्रमुख खड्ग गोपाली, वडा अध्यक्षहरु, विभिन्न सहकारी संस्थाका अध्यक्ष, व्यवस्थापक प्रमुख एवम् प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।