प्रदेश मन्त्रीपरिषद् बैठक ।

हेटौंडाः बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्राध्यापक डाक्टर विश्वराज जोशी (बीआर जोशी) लाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको प्रदेशको मन्त्री परिषद्को बैठकले जोशीलाई ४ वर्षका लागि प्रदेशले स्थापना गरेको स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्त गर्ने निर्णय गरेको हो ।

उपकुलपति प्राडा विश्वराज जोशी

यसअघि वीर अस्पतालमा नेसनल एकेडेमी अफ मेडिकल साईन्सको रजिस्ट्रार, वीर अस्पतालमा नै युरोलोजिष्ट प्रमुख समेत रहनुभएका जोशीले सन् १९७४ मा एमडी र १९८३ मा विद्यावारिधी उपाधी हासिल गर्नुभएको थियो । उपकुलपति नियुक्तीसँगै प्रतिष्ठान सञ्चालनका कार्यहरु अगाडि बढ्ने सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिनुभयो ।

यसैगरी प्रदेश बालअधिकार समितिमा पनि सदस्यहरू नियुक्त गरिएको छ । समितिमा झबिन्द्र ज्ञवाली, शान्ता बराल, शान्ति श्रेष्ठ, मिना थापा र लक्ष्मी ढकाललाई मनोनित गरिएको छ । उनीहरुको कार्यकाल ४ वर्षको हुनेछ । यसैगरी प्रदेश युवा परिषद् नियमावली २०७७ स्वीकृत गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिनुभयो । बैठकले वैदेशिक सहयोग प्राप्ति र कर छुटका लागि सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।