पत्रकार सम्मेलनमा बोल्नुहुँदै नेता ईन्द्रबहादुर बानियाँ ।

हेटौंडाः नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले राक्सिराङ गाउँपालिकाको परेवाभीरमा प्रदेश सरकारले बाटो नबनाए आफ्नो निजी खर्चमा भए पनि बाटो बनाउने बताउनुभएको छ । बागमती प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता समेत रहनुभएका बानियाँले आफूले त्यस क्षेत्रको विकास गर्ने वाचा जनतासँग गरेको बताउनुभयो ।

पार्टी कार्यालयमा आज पत्रकार सम्मेलन गरेर नेता बानियाँले चालु आर्थिक वर्षमा प्रदेश सरकारले परेवाभीरमा बाटो निर्माणका लागि बजेट नराखे पनि प्रदेश सरकारलाई बाटो बनाउन दबाव दिने बताउनुभएको छ । जिल्लाको पश्चिमक्षेत्रका जनताको विकासका लागि बाटो जरुरी रहेको उल्लेख गर्नुहुँदै बाटोको अभावकै कारण अवैध रुपमा गाँजा खेती भइरहेको र गाँजा भरियाको रुपमा त्यसक्षेत्रका जनता जेल जान बाध्य भएको नेता बानियाँले बताउनुभयो ।

पत्रकार सम्मेलनमा राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष निर्मला हिमडुङ, नेपाली कांग्रेसको क्षेत्री सभापति लोक मोक्तान लगायतको उपस्थिति रहेको थियो । केहीदिन यता राक्सिराङको परेवाभीरको विषयलाई लिएर पश्चिम मकवानपुरका स्थानीय सरकारहरु, प्रदेश सभाका प्रतिनिधि र संघीय संसदका प्रतिनिधिहरुले चासो देखाएका छन् ।