मिलन दंगालको हत्या अभियोगमा पक्राउ परेका ७ जना ।

हेटौँडा : बुधबार बिहान मकवानपुरको बागमती गाउँपालिका–८, देउतीभञ्ज्याङमा सडकछेउ मृत भेटिएका हेटौँडा–१६ का ३७ वर्षीय मिलन दंगालको हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेका ७ जनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । मंगलबार बेलुका नै दंगालको हत्या गरिएको आशंकामा प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

आफन्तले बिहीबार मिलन दंगालको शव अन्त्येष्टी गरेको छ । पोष्टमार्टमको रिपोर्टअनुसार मिलनलाई कुटपिट गरी हत्या गरेको देखिन्छ । मिलनको टाउको र छातीमा चोट लागेको देखिन्छ भने मिलनको करङ पनि भाँचिएको आफन्तले जनाएको छ । प्रहरीले ४ जना महिला र ३ जना पुरुषलाई नियन्त्रणमा लिएको छ । प्रहरीले मकवानपुरको बकैया गाउँपालिका–३ का ३६ वर्षीय प्रशान्त लामा, ललितपुर जिल्लाको गोदावारी नगरपालिका–१२ का २४ वर्षीय किसन दानी, बारा जिल्लाको निजगढ नगरपालिका–३ की १९ वर्षीया इनिसा तिमल्सेना, हेटौँडा–१५ की १९ वर्षीया सुस्मिता तामाङ, सिन्धुली जिल्लाको मरिन गाउँपालिका–७ की २० वर्षीया शर्मिला मुक्तान, १९ वर्षीया रोजिना तामाङ र हेटौँडा–१६ का २८ वर्षीय सुजन पौडेल रहेका छन् ।

प्रहरीले मकवानपुर जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसुरमा ७ दिनको म्याद अनुमति लिई सातैजनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । मिलनको शव भेटिएको स्थानभन्दा नजिकैको एकान्त ठाउँको एउटा होटल रहेको र उक्त होटलमा मिलन मंगलबार राती पुगेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार एकान्तमा रहेको उक्त होटलमा किशोरीहरु रहनु, होटल वरपर अस्थायी साधन कण्डम छरपष्ट देखिनुले देहव्यापार हुने गरेको आशंका गर्न सकिने र सोहीअनुसार प्रहरीले थप अनुसन्धान गर्ने जनाएको छ ।