हेटौँडा : बागमती प्रदेशसभा बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । प्रदेशसभाको बुधबार १ बजेका लागि बोलाइएको बैठक बस्न नसकेपछि सूचना टाँस गरेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो ।
प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभाको बैठक बस्ने अवस्था नदेखिएपछि सभामुख भुवनकुमार पाठकको निर्देशन अनुसार अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको हो । सचिवालयका प्रवक्ता मनोज कुमार गुप्ताका अनुसार प्रदेशसभा संचालनको अवस्था नरहेकाले प्रदेशसभा नियमावली २०७४ को नियम ६ को उपनियम २ बमोजिम सूचना टाँस गरेर बैठक स्थगित गरिएको हो ।
प्रदेशसभा संचालनका लागि आह्वान भएको सर्वदलीय बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलहरु बीच सहमति जुट्न नसक्दा प्रदेशसभा बैठक प्रभावित हुँदै आएको थियो । मंगलबार दिनभर प्रदेशसभा संचालनका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरु बीच छलफल भएपनि ठोस निचोड भने आउन सकेको थिएन । सत्तापक्ष र प्रतिपक्षी दलहरुको ११ घण्टाको छलफलले विगतमा भएको सहमति कार्यान्वयनको विषय टुंगउन नसक्दा प्रदेशसभा बैठक पटक–पटक समय तोकिएपनि बस्न सकेको थिएन ।
विशेषगरी बजेट माथिको विवादका कारण सत्तापक्ष र प्रतिपक्षी दल बीच विवाद हुँदै आएको थियो । मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा पनि उक्त विषयमा सहमति जुट्न नसकेपछि ४ बजेसम्मका लागि सारिएको थियो । अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक पनि चल्न नसकेपछि सूचना टाँस गरेर बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो ।











