
हेटौँडा : स्वतन्त्र पत्रकार संघ बाँकेको अध्यक्षमा मन भण्डारी सर्वसम्मत चयन हुनुभएको छ । शनिबार सम्पन्न चौथो अधिवेशनबाट भण्डारीको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन गरेको हो ।
बाँके शाखा अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा हेमराज भट्ट, सचिवमा माधव कार्की, सहसचिवमा शोभा थापा मगर र मुना बिष्ट चयन हुनुभयो । सदस्यमा रमेश सिटौला, तपेन्द्र मलाती, लोक बहादुर घर्ती र अशोक रावल चयन हुनुभयो । बाँकेमा २०६९ सालमा स्थापित स्वतन्त्र पत्रकार समाज पोखरामा केन्द्रीय कार्यालय भएको स्वतन्त्र पत्रकारहरुको संगठन स्वतन्त्र पत्रकार संघ नेपालमा आबद्ध भएको थियो । संघ कुनै पनि राजनीतिक आस्थासँग सम्बद्ध संघ, संगठनमा असंलग्न रहँदै आएका विभिन्न संचार माध्यमसँग आबद्ध संचारकर्मीहरुको साझा संस्था हो । पोखरामा केन्द्रीय कार्यालय रहेको स्वतन्त्र पत्रकार संघ मकवानपुरसहित देशका २५ जिल्लामा शाखा रहेको छ ।
अधिवेशनको उद्घाटन स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले गर्नुभएको थियो । निष्पक्ष र स्वतन्त्र पत्रकारिता संकटमा परिरहेको उल्लेख गर्नुहुँदै अध्यक्ष बास्तोलाले पत्रकारिताको संस्थागत विकासका लागि स्वतन्त्र पत्रकारितामात्रै विकल्प रहेको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी, स्वतन्त्र पत्रकार संघ नेपालका पूर्ब लुम्बिनी प्रदेश संयोजक रमेश सिटौला, बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकी लगायतले बोल्नुभएको थियो ।