थाहा नगरपालिकामा हावाहुरीले छानो उठाएको एक घर ।

हेटौँडा : मकवानपुरको थाहा नगरपालिकामा बिहीबार हावाहुरीले ८६ वटा घरको छानो उडाएको छ । हावाहुरीसँगै भारी असिना पानीले खाद्यान्न, तरकारी तथा फलफूल बालीमा क्षति पुगेको छ ।

हावाहुरीले ८६ वटा घरको जस्ताको छानो उठाएको नगरपालिकाका प्रमुख विष्णु बहादुर विष्टले जानकारी दिनुभएको छ । भारी वर्षाको कारणले नगरपालिकामा अन्न, बाली टनेलहरु बिग्रिएको नगरप्रमुख विष्टले बताउनुभयो । हावाहुरी र असिना पानीले पुर्‍याएको क्षतिको विवरण संकलन भइनसकेको उहाँले बताउनुभयो । कृषिबालीमा ठूलो क्षति पुर्‍याएको उहाँले बताउनुभयो ।

पालिकाले क्षतिको विवरण संकलन गर्ने कार्यमा लागिरहेको उहाँले बताउनुभयो । पालिकाको वडा नम्बर–३, वडा नम्बर–४ र वडा नम्बर–५ को घरको छानो तथा बालीमा नोक्सानी पुगेको छ । हावाहुरीले पूर्ण क्षति भएको घर पुननिर्माणमा पालिकाले सहयोग गर्ने उहाँले बताउनुभयो । नगरप्रमुख विष्टका अनुसार हावाहुरीले क्षति पुर्‍याएको घर मर्मत गरी खर्च विवरण पालिकालाई बुझाएपछि मर्मत खर्च वापतको रकम प्रदान गरिनेछ ।