हेटौँडा : नेकपा एमाले मनहरी गाउँपालिका कमिटीले मेलाको टिकट दर वृद्धि गरेको विषयमा आपत्ती जनाएको छ । मनहरीमा जारी खेलकुद तथा व्यापार मेलाको प्रवेश टिकटको दर वृद्धि गरिएको भन्दै आपत्ति जनाएको हो ।
बुधबार एमाले मनहरीले विज्ञप्ती जारी गर्दै मनहरी गाउँपालिका–८ सिमपानीमा चलिरहको मेलाको टिकट दर बढाएर नागरिकलाई ठगि गरिरहेको जनाएको छ । आयोजकले बिहीबार टिकटको मुल्य बढाएर बिक्री गर्न लागेको एमाले अध्यक्ष नविन सुवेदीले बताउनुभयो । सरोकारवाला संघसंस्था, राजनीतिक पार्टी, नेकपा एमाले लगायत अन्य राजनीतिक दलहसँग सरसल्लाह समेत नगरी स्थानीय सरकारको लगानीमा चरम आर्थिक मन्दीका बीच महोत्सव सञ्चालन गर्दा मनहरीका व्यापारी र व्यवसायीहरु मारमा परेको उहाँको भनाई छ । उहाँका अनुसार नियमित रुपमा ७० रुपैयाँमा बिक्री गरेको प्रवेश टिकट फागु पूर्णिमाको अवसर पारेर प्रतिव्यक्ति २५० रुपैयाँ राखेकोमा आपत्ति जनाइएको हो ।
‘ग्रामीण क्षेत्रमा गरिएको महोत्सवलाई व्यापारिकरण गरी व्यापारको बाटोमा मात्रै आयोजक बढेकोमा हाम्रो आपत्ति छ । हामी उक्त निर्णय सच्याउन र पुरानै टिकट दर कायम गर्न यो ध्यानाकर्षण पत्र पेस गर्दछौ ।’ उहाँले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘गत वर्षहरुभन्दा यसपटक विविध विधाहरु राखेर खेलहरु खेलाइएको खेलकुदहरुमा प्रतियोगिताहरुमा चौतर्फी सरोकारवालाहरु अनुपस्थित भएका छन् भने पूर्व खेलाडीहरुलाई महोत्सवबारे जानाकरी समेत गराइएको छैन ।’
उक्त विषयमा जिल्ला प्रशासन कार्यलय मकवानपुरकी प्रमुख स्कीम श्रेष्ठका अनुसार प्रशासनले मेलामा सुरक्षाको लागि मात्र काम गर्ने र प्रहरी परिचालन गरि सुरक्षा दिई रहेको बताउनुभयो । मेला आयोजना गर्ने क्रममा प्रशासन संग नभई आयोजकले गाउँपालिकासंग अनुमती लगायतका विषयहरुमा सम्झौता गरेको र सोही अनुसार मेला आयोजना भएको उहाँको भनाई छ । सो विषयको अनुगमन तथा नियमनको पाटो सम्बन्धीत स्थानीय तह नै रहने उहाँले बताउनुभयो । सो विषयमा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीलाई सम्पर्क गर्दा उहाँको फोन उठेन् ।