हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिकास्थित मनहरी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रियाअन्तर्गत सर्वसम्मत नयाँ समिति चयन हुने भएको छ । ४ वटा विद्यार्थी संगठनबीच सहमतिका आधारमा सर्वसम्मत नयाँ समिति चयन हुने अवस्था आएको हो ।
स्ववियु निर्वाचन अन्तर्गत मंगलबार उम्मेद्वारी दर्ताको कार्यक्रम रहेको थियो । स्ववियु अध्यक्षमा नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) बाट कुमार घिसिङको मात्रै उम्मेदवारी परेको छ । घिसिङ यसअघि पनि अध्यक्ष हुनुहुन्थ्यो । सचिवमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघका अविक दाहाल, कोषाध्यक्षमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका पासाङ मुक्तानको उम्मेदवारी परेको छ ।
प्रत्यक्ष निर्वाचन प्रणालीमा ३ जना सदस्यका लागि सदस्यमा नेपाल विद्यार्थी संघका विष्णु कामी, अखिल क्रान्तिकारीका गुणराज स्याङ्बो, नेकपा एमाले निकट अनेरास्ववियुकी शितल लामाको मात्रै उम्मेदवारी परेको छ । यस्तै समानुपातिकतर्फ ५ जना सदस्यका लागि नेपाल विद्यार्थी संघका उमेश तामाङ, अखिल क्रान्तिकारीकी शान्तिमाया थिङ, अनेरास्ववियूका उत्सव रिजाल, अनेरास्ववियुका सीता सापकोटा र सुजिना पाख्रिनको उम्मेदवारी दर्ता भएको निर्वाचित समितिका संयोजक जयराम अर्यालले जानकारी दिनुभएको छ । आवश्यक पद संख्याअनुसार नै उम्मेदवारी परेसँगै सर्वसम्मत नयाँ समिति चयन हुने निश्चित भएको हो ।
मनहरी बहुमुखी क्याम्पसमा ८० जना विद्यार्थी अध्ययनरत रहे पनि स्ववियु निर्वाचनमा भने ५५ जना मात्रै मतदाताको रुपमा रहेको क्याम्पस प्रमुख गोविन्द बर्तौलाले जानकारी दिनुभयो । त्रिभूवन विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित मनहरी बहुमुखी क्याम्पसमा स्नातक तहमा वाणिज्य संकाय अन्तर्गत बीबीएस र मानविकी संकायमा पठनपाठन भइरहेको छ ।