हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नागरिक लक्षित गुणस्तरिय सेवा प्रवाह गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । मुख्यमन्त्री लामाले प्रदेश सरकारले हेटौंडा अस्पतालसहित प्रदेशका १३ अस्पतालको सेवालाई गुणस्तरिय बनाउन प्राविधी तथा जनशक्तिको व्यवस्थापनमा काम गरिरहेको बताउनुभयो ।
मंगलबार हेटौंडा अस्पतालमा मुटु रोग सम्बन्धी सेवाको सुभारम्भ गर्दै मुख्यमन्त्री लामाले स्वास्थ्य सेवालाई सहज र गुणस्तर वृद्धिमा सरकारले लगानी बढाएको बताउनुभयो । विगतको तुलनामा प्रदेशको स्वास्थ्य सेवामा क्रमिक रुपमा सुधार भइरहेको उहाँको भनाई छ ।
उहाँका अनुसार हेटौंडा अस्पतालमा कार्डियो सेवा तथा क्याथ ल्यावको दीर्घकालीन संचालनका लागि उपकरण र दक्ष जनशक्ति व्यवस्थापनको काममा सरकारले प्रतिवद्ध रहेको छ । हाल देशमा मुटु रोग सम्बन्धी समस्याको दर उच्च हुँदै गएकाले प्रदेश सरकारले त्यस तर्फ गम्भिर र सतर्क रहेको उहाँको भनाई छ ।
स्वस्थ्य सेवालाई राजनीतिकरण गर्न बन्द गर्नुपर्ने मुख्यमन्त्री लामाले आग्रह गरे । राजनीति नेतृत्वको सुझाव र समन्वयमा आम नागरिकहरुमा स्तरीय स्वास्थ्य सेवाको पहुँच पु¥याउन जरुरी रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले प्रदेशको स्वास्थ्य सेवा गुणस्तरिय बनाउन आफ लागि परेको बताउनुभयो । विभिन्न संघ संस्थासंगको समन्वयमा प्रादेशिक अस्पतालको सेवा विस्तार तथा व्यवस्थापनमा मन्त्रालयले काम गरिरहेको उहाँले बताउनुभयो ।
हेटौंडा अस्पतालमा कार्डियो सेवाको दिर्घकालिन संचालन तथा क्याथ ल्याव संचालनका लागि दातृ संस्थासंग साझेदारी गर्न आफू प्रतिवद्ध रहेको उहाँको भनाई छ ।
‘स्वास्थ्य सेवा विस्तार र प्रभावकारितामा सरकारले लगानी गरिरहेको छ । प्रदेशकै ठूलो अस्पतालको रुपमा हेटौंडा अस्पताललाई विकास गर्न उपकरण तथा दक्ष जनशक्ति व्यवस्थापन भइररहेको छ ।’
उहाँले भन्नुभयो, ‘प्रदेशका नागरिकहरुलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन टेलि मेडिसिन मार्फत सेवा प्रदानको काम थालिएको छ । प्रदेशमा २ वटा ट्रमा सेन्टर संचालनको योजना अनुसार काम भइरहेको छ भने स्थानीय तहका स्वास्थ्य संस्थाको सेवा प्रवाहमा प्रदेश सरकारले समन्वय र व्यवस्थापनको काम थालीएको छ ।’
कार्यक्रमको अध्यक्षता गरेका मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. प्रदिप ज्ञवाली प्रादेशिक अस्पतालको सेवा विस्तारसंगै निरन्तरता महत्वपूर्ण हुने बताउनुभयो । सेवा विस्तारमा आएका छात्रवृत्तीका विशेषज्ञ डाक्टरलाई अस्पतालमा २ वर्ष टिकाउन पर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार नीतिगत रुपमा प्रतिष्ठानमा संकाय निर्माण गरेर डाक्टरको दरवन्दी कायम गर्छौ । हेटौंडा अस्पतालमा कार्डियो सेवासँगै क्याथ ल्याव निर्माणको तयारीमा प्रतिष्ठानले काम अघि बढाउने उहाँले बताउनुभयो । अस्पताल र प्रतिष्ठानको विवाद समाधान गर्न तलव, प्रशासनिक कार्य एकद्वार बनाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।
स्तरिय स्वास्थ्य सेवाका लागि प्रदेश सरकारले उपयुक्त बजेट व्यवस्थापन गर्नुपर्ने उहाँको भनाई छ । आगामी वर्षबाट प्रतिष्ठानमा एमबीबीएस कार्यक्रमका संचालनको लागि ७५ प्रतिशत बजेट सुनिश्चित गर्नपर्ने भएकाले सरकारले उपयुक्त निर्णय गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले रिसर्च बेस कार्यक्रमका लागि प्रतिष्ठान तयार रहेकाले सरकारले उपयुक्त वातावरण तयार पार्न सरकारलाई आग्रह गर्नुभयो ।