मकवानपुर बहुमुखी क्याम्पस निर्वाचन समितिले सार्वजनिक गरेको मतदाता नामावली ।

हेटौंडा : हेटौंडा उपमहानगरपालिकाका विभिन्न क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि विद्यार्थी संगठन दर्ता सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालयले संघ, संगठन र समूह दर्ताका लागि तोकेको मितिमा विद्यार्थी संगठन दर्ता भएको हो ।

संगठन दर्ताका लागि गत फागुन १९ गते दिउँसो ३ बजेसम्म समय तोकिएको थियो । स्ववियु निर्वाचनमा सहभागी हुन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), नेपाल विद्यार्थी संघ (नेविसंघ), राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं) र अखिल समाजवादी संगठन दर्ता भएको छ ।

हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसमा ६ वटा संगठन दर्ता भएको छ । एमाले निकट अनेरास्ववियु, माओवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियु र अखिल समाजवादी संगठन दर्ता भएको छ । मकवानपुर बहुमुखी क्याम्पसमा २ हजार ६ सय ९९ जना मतदाता रहेका छन् ।

हेटौंडा–१९ स्थित निर्मल बहुमुखी क्याम्पसमा ५ वटा संगठन दर्ता भएको छ । एमाले र समाजवादी निकट अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), नेविसंघ र अखिल समाजवादी संगठन दर्ता भएको छ । निर्मल बहुमुखी क्याम्पसमा करिब ७७ जना मतदाता रहेका छन् ।

हेटौंडा–१० स्थित वनविज्ञान अध्ययन संस्थान हेटौंडा क्याम्पसमा ४ वटा संगठन दर्ता भएको छ । वनविज्ञानमा पनि दुई वटा अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र नेविसंंघ दर्ता भएको छ । उक्त क्याम्पसमा करिब ४ सय मतदाता रहेका छन् ।

हेटौंडा–४ स्थित हेटौंडा क्याम्पसमा ६ विद्यार्थी संगठन दर्ता भएको छ । दुईवटा अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), नेविसंघ, राप्रविसं र अखिल नेपाल समाजवादी संगठन दर्ता भएको छ ।
त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन समितिले फागुन २९ गते प्रचारप्रसार मिति तोकेको छ भने देशभर मतदान मिति चैत ५ गते तोकेको छ ।