हेटौँडा : मातृभूमि साहित्य समाज मकवानपुरले शनिबार ७ वटा विधाका ९ जनालाई सम्मान गरेको छ । नित्यगोविन्द स्मृति मातृभूमि संगीत पुरस्कार–२०८० बाट काठमाडौंका गीतकार सुभाषचन्द्र ढुंगेल २० हजार रुपैयाँ राशिसहित सम्मानित हुनुभएको छ । श्याम श्रेष्ठ स्मृति मातृभूमि पुरस्कार–२०८० बाट भारतका डा. विष्णु भण्डारी १५ हजार रुपैयाँ राशिसहित सम्मानित हुनुभएको छ ।
यसैगरी शेखर शर्मा रिजाल स्मृति मातृभूमि शैक्षिक पुरस्कार–२०८० बाट सामुदायिक विद्यालयतर्फ एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउन सफल असल पाख्रिन, बेबी खातुन, परीक्षा खतिवडा सम्मानित हुनुभएको छ । पाख्रिन १५ हजार रुपैयाँ र खातुन र खतिवडा ७ हजार ५ सय रुपैयाँ राशिसहित सम्मानित हुनुभएको छ । काठमाडौंका साहित्यकार नरेन्द्रराज पौडेल ईश्वरी स्मृति मातृभूमि सम्मान–२०८० बाट १५ हजार रुपैयाँ राशिसहित सम्मानित हुनुभएको छ ।
हातेमालो–मातृभूमि युवा सृजनशील सम्मान–२०८० बाट मकवानपुरका साहित्यकार दीपक गौतमलाई १० हजार रुपैयाँ राशिसहित गरिएको छ । मकवानपुरकी गृष्मा गहतराज मंगलादेवी स्मृति मातृभूमि बाल पुरस्कार–२०८० बाट ७ हजार ५०० रुपैयाँ राशिसहित सम्मानित हुनुभएको छ । शारदा उप्रेती स्मृति मातृभूमि सम्मान-२०८० बाट मकवानपुरका कलाकार ज्ञानभक्त लामा १० हजार रुपैयाँ राशिसहित सम्मानित हुनुभएको छ ।
मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष कृष्णप्रसाद दाहालको अध्यक्षता तथा बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेको प्रमुख आतिथ्य रहेको थियो । सोही अवसरमा २६ औं वार्षिक साधारणसभासँगै लेखन विधामा सृजनात्मक सौन्दर्य परिचर्चा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा हेटौंडा–१० का अध्यक्ष फूर्वा दोर्जे लामाको पनि विशिष्ट आतिथ्यता रहेको थियो ।