हेटौंडाः मकवानपुर जिल्लाको सदरमुकाम हेटौंडा बजारबाट जिल्लाकै पूर्विक्षेत्रस्थित बागमती गाउँपालिकातर्फ जाँदै गरेको ट्याक्टर सोमबार दिउँसो १ बजेको समयमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । निर्माणाधीन हेटौंडा–सिन्धुली–गाइघाट सडकखण्डअन्तर्गत हेटौंडा–१७, ठूलोगंगटेमा ना ५ त ८०८८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा बागमती गाउँपालिका–६, कायरका ५० वर्षीय शंकर लोप्चन र बागमती गाउँपालिका–८, साततलेका १७ वर्षीय सुजल नेगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
दुर्घटनामा परी घाइते भएका लोप्चन र नेगीलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको थियो । गम्भीर घाइते उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक रानाले जानकारी दिनुभयो । दुर्घटनामा परी बागमती गाउँपालिका–६, कायरका १६ वर्षीय मनोज जिम्बा घाइते भएको प्रहरीले जनाएको छ । घाइते जिम्बाको हेटौंडा अस्पतालमै उपचार भइरहेको छ । तीव्र गतिमा भएका कारण अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । दुर्घटनाग्रस्त ट्याक्टरको चालक को थिए भन्ने पनि यकिन भइनसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले बताउनुभएको छ । दुर्घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।