भेट्रान्स फुटबल खेल्दै । फाइल तस्वीर ।

हेटौंडा : हेटौंडा भेट्रान्स क्लबको आयोजनामा दशौं संस्करणको राष्ट्रिय भेट्रान्स फुटबल प्रतियागिता आज बिहीबारबाट सुरु हुँदैछ । हेटौंडा–४, हुप्रचौरमा सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा बानेश्वरी फ्रेण्डसीप भेट्रान्स र वीरगञ्ज सिटी भेट्रान्सबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २ बजेबाट सुरु हुनेछ । ८ ए साइडमा सञ्चालन हुने रनिङ शिल्ड भेट्रान्स फुटबल प्रतियोगितामा १५ वटा भेट्रान्स क्लबको सहभागिता रहनेछ ।

प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख ५० हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता टिमले ७५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको म्यान अफ द सिरिजले १० हजार रुपैयाँ, सर्वोत्कृष्ट प्रशिक्षक, सर्वोत्कृष्ट फरवार्ड, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स र उत्कृष्ट मिडफिल्डरले जनही ५ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । गतवर्ष सम्पन्न भएको नवौं संस्करणको राष्ट्रिय हेटौंडा भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि वानेश्वरी फ्रेण्डसीप भेट्रान्स क्लबले जितेको थियो ।