हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिका–७ मा डम्पिङसाइटमा सालनालसहितको नवजात शिशुको शव भेटिएको छ । मंगलबार साँझ ६ बजेर २५ मिनेटको समयमा नवजात शिशु (छोरी) को शव भेटिएको जानकारी इलाका प्रहरी कार्यालय मनहरीलाई प्राप्त भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले नवजात शिशु कसले फाल्यो भन्ने विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । यसअघि हेटौँडा हस्पिटलको डस्टविनमा, हेटौँडा–४, हुप्रचौरमा नवजात शिशु छाडेर जाने व्यक्तिको पनि पहिचान गर्न सकेको छैन । नवजात शिशु जिउँदै छाडेर जानु, मृत अवस्थामा छाडेर जानु गम्भीर अपराध मानिए पनि प्रहरी प्रशासनले यस्तो अपराध गर्नेलाई पक्राउ गर्न सकेको छैन ।