हेटौँडा : ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा हेटौँडा–१५ बाट ४ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
सोमबार राती साढे ८ बजेको समयमा हेटौँडाबाट बीरगन्जतर्फ जाँदै गरेको बा २१ च ६०७ नम्बरको कारलाई सोही दिशामा जाँदै गरेको म प्र ०२–०३४ प १३७२ र प्र ०२ ०३४ प ४१२९ नम्बरको २ वटा मोटरसाईकलमा सवार ४ जनाले कारलाई पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५, पिपलचौतारामा रोकेर कार चालक बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका–२२ का ५० वर्षीय बलराम लामा दोङ र कारमा सवार जितपुर–सिमरा उपमहानगरपालिका–२१ का ६० वर्षीय मनोज साहलाई कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट दोङ र साहको शरीरमा गहिरो चोट लागेर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
कुटपिटको घटनामा संलग्न भएको आरोपमा प्रहरीले बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–४ का १९ वर्षीय अजय गिरी, २० वर्षीय सञ्जय गिरी, १९ वर्षीय शिव मंगल गरी र रौतहट जिल्लाको मौलापुर नगरपालिका–६ का २० वर्षीय शिवम् गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका चारैजना विरुद्ध मकवानपुर प्रहरीले ज्यान मार्ने उद्योगसम्बन्धी अभियोगमा मुद्दा मकवानपुर जिल्ला अदालतबाट ६ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति लिएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।