जनशक्तिको अभावमा बन्द अवस्थामा रहेको हेटौँडा अस्पतालको मुटु स्वास्थ्य सेवाका लागि स्थापना गरिएको कार्डियो सेन्टर ।

हेटौँडा : हेटौँडा अस्पतालले मुटु स्वास्थ्य सम्बन्धी सेवा विस्तारको तयारी गरेको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेटौँडा अस्पतालमा आगामी साताबाटै सेवा विस्तारको तयारी गरेको हो । विगत लामो समयदेखि प्रयास गर्दा पनि अस्पतालमा उक्त सेवा सुरु गर्न कठिन भएको थियो । विशेषगरी अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा सेवा संचालन हुन सकेको थिएन । अस्पतालमा सो सेवा संचालनका उपकरण हुँदा पनि जनशक्ति नहुँदा सेवा संचालनमा बाधा पुगेको थियो ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार तथा हेटौंडा अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष भीमसागर गुरागाईका अनुसार सम्भव रहेसम्म आगामी आइतबारबाट सेवा संचालनको तयारी गरिएको छ । यसै साता सेवा थप गरी उपचार कार्य अघि बढाउने तयारी गरिए पनि व्यवस्थापनको काम पूरा नहुँदा समस्या भएको उहाँले बताउनुभयो ।

टिचिङ अस्पतालमा अध्ययनरत मुटु स्वास्थ्य विशेषज्ञ डा. विकेश श्रेष्ठ अस्पतालमा हाजिर भए लगत्तै सेवा संचालनको तयारी गरिएको उहाँले बताउनुभयो । अस्पतालमा रहेको उपकरण र विशेषज्ञ चिकित्सक पनि प्राप्त भएपछि सेवा विस्तारको तयारी गरेको उहाँको भनाई छ । अस्पतालमा मुटु स्वास्थ्य सेवा थप भएसँगै मुटु सम्बन्धी स्वास्थ्य समस्या हुँदा भरतपुर तथा काठमाडौं जानुपर्ने बाध्यता अन्त्य हुने उहाँले दावी गर्नुभयो ।

अस्पतालमा मुटु स्वास्थ्य विशेषज्ञ प्राप्त भएसँगै उपचार र इको, ईसीजी, टीएमटी जस्ता परीक्षण गर्न बाहिर जानुपर्ने बाध्यता हट्ने उहाँको भनाई छ । रजिष्ट्रार गुरागाईका अनुसार हेटौँडा अस्पतालमा २०८० सालमा नै मुटु स्वास्थ्य सम्बन्धी उपचार तथा परीक्षणका लागि उपकरणहरु प्राप्त भएको थियो । मुटु स्वास्थ्य विशेषज्ञ नहुँदा उक्त उपकरण थन्किएर रहेको थियो । विशेषज्ञ चिकित्सकको अभावमा मुटुको जाँचका लागि ल्याइएका उपकरण विगत एक वर्षदेखि थन्किएको थियो ।

रोटरी क्लब अफ मकवानपुरले हेटौँडा उपमहानगरपालिकासँगको साझेदारीमा १ करोड रुपैयाँ मूल्य बराबरको मुटु परीक्षण उपकरण अस्पताललाई उपलब्ध गराएको थियो । सो उपकरण प्राप्त भएसँगै अस्पतालले मुटु स्वास्थ्य सम्बन्धी विशेषज्ञ डाक्टर नियुक्तिको पहल गरेको थियो । तर, डाक्टर नपाउँदा सेवा विस्तारको काम अघि बढ्न सकेको थिएन ।

बिरामीको अत्यधिक चाप रहने अस्पतालमा चिकित्सक नभएर उपकरण थन्काउन बाध्य भएसँगै प्रतिष्ठानले पटक–पटक पहल गरेपछि संघीय सरकारले टिचिङबाट अध्यापन गर्नुभएका डा. श्रेष्ठलाई पठाएको रजिष्ट्रार गुरागाईले बताउनुभयो । प्रतिष्ठान र अस्पतालले गत वैशाखमा पनि विशेषज्ञ डाक्टर नियुक्तिका लागि आवेदन माग गरेको थियो । माग अनुसार एक जना चिकित्सकको आवेदन परे पनि मापदण्ड अनुकुल नहुँदा नियुक्त गर्न कठिन भएको थियो ।

प्रतिष्ठानले गत फागुन १३ मा पनि एक जना मुटु स्वास्थ्य विशेषज्ञ नियुक्तिका लागि आवेदन माग गरेको उहाँले बताउनुभयो । अस्पतालबाट तत्काल मुटु स्वास्थ्य सम्बन्धी ओपिडी सेवा संचालन गरिने र सामान्य शल्यक्रिया सेवा लिन भने बाहिरी जिल्ला जानु पर्ने उहाँले बताउनुभयो । २ जना चिकित्सकबाट हाल उपचार तथा परीक्षण गर्ने र क्रमशः व्यवस्थापन गर्दै आगामी वर्षमा थप विशेषज्ञ सेवासहित शल्यक्रिया लगायतका सेवा विस्तार गर्ने योजना रहेको उहाँको भनाई छ । अस्पतालमा निर्माणाधिन भवन प्राप्त भएसँगै आगामी आर्थिक वर्षमा मुटु स्वास्थ्य सम्बन्धी शल्यक्रियाका लागि आवश्यक उपकरण थप गरी सेवा अघि बढाउने तयारी रहेको उहाँले बताउनुभयो ।