Home मुख्य समाचार हेटौँडा अस्पतालमा मुटु स्वास्थ्य सेवा विस्तार हुँदै

हेटौँडा अस्पतालमा मुटु स्वास्थ्य सेवा विस्तार हुँदै

जनशक्तिको अभावमा बन्द अवस्थामा रहेको हेटौँडा अस्पतालको मुटु स्वास्थ्य सेवाका लागि स्थापना गरिएको कार्डियो सेन्टर ।

हेटौँडा : हेटौँडा अस्पतालले मुटु स्वास्थ्य सम्बन्धी सेवा विस्तारको तयारी गरेको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेटौँडा अस्पतालमा आगामी साताबाटै सेवा विस्तारको तयारी गरेको हो । विगत लामो समयदेखि प्रयास गर्दा पनि अस्पतालमा उक्त सेवा सुरु गर्न कठिन भएको थियो । विशेषगरी अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा सेवा संचालन हुन सकेको थिएन । अस्पतालमा सो सेवा संचालनका उपकरण हुँदा पनि जनशक्ति नहुँदा सेवा संचालनमा बाधा पुगेको थियो ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार तथा हेटौंडा अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष भीमसागर गुरागाईका अनुसार सम्भव रहेसम्म आगामी आइतबारबाट सेवा संचालनको तयारी गरिएको छ । यसै साता सेवा थप गरी उपचार कार्य अघि बढाउने तयारी गरिए पनि व्यवस्थापनको काम पूरा नहुँदा समस्या भएको उहाँले बताउनुभयो ।

टिचिङ अस्पतालमा अध्ययनरत मुटु स्वास्थ्य विशेषज्ञ डा. विकेश श्रेष्ठ अस्पतालमा हाजिर भए लगत्तै सेवा संचालनको तयारी गरिएको उहाँले बताउनुभयो । अस्पतालमा रहेको उपकरण र विशेषज्ञ चिकित्सक पनि प्राप्त भएपछि सेवा विस्तारको तयारी गरेको उहाँको भनाई छ । अस्पतालमा मुटु स्वास्थ्य सेवा थप भएसँगै मुटु सम्बन्धी स्वास्थ्य समस्या हुँदा भरतपुर तथा काठमाडौं जानुपर्ने बाध्यता अन्त्य हुने उहाँले दावी गर्नुभयो ।

अस्पतालमा मुटु स्वास्थ्य विशेषज्ञ प्राप्त भएसँगै उपचार र इको, ईसीजी, टीएमटी जस्ता परीक्षण गर्न बाहिर जानुपर्ने बाध्यता हट्ने उहाँको भनाई छ । रजिष्ट्रार गुरागाईका अनुसार हेटौँडा अस्पतालमा २०८० सालमा नै मुटु स्वास्थ्य सम्बन्धी उपचार तथा परीक्षणका लागि उपकरणहरु प्राप्त भएको थियो । मुटु स्वास्थ्य विशेषज्ञ नहुँदा उक्त उपकरण थन्किएर रहेको थियो । विशेषज्ञ चिकित्सकको अभावमा मुटुको जाँचका लागि ल्याइएका उपकरण विगत एक वर्षदेखि थन्किएको थियो ।

रोटरी क्लब अफ मकवानपुरले हेटौँडा उपमहानगरपालिकासँगको साझेदारीमा १ करोड रुपैयाँ मूल्य बराबरको मुटु परीक्षण उपकरण अस्पताललाई उपलब्ध गराएको थियो । सो उपकरण प्राप्त भएसँगै अस्पतालले मुटु स्वास्थ्य सम्बन्धी विशेषज्ञ डाक्टर नियुक्तिको पहल गरेको थियो । तर, डाक्टर नपाउँदा सेवा विस्तारको काम अघि बढ्न सकेको थिएन ।

बिरामीको अत्यधिक चाप रहने अस्पतालमा चिकित्सक नभएर उपकरण थन्काउन बाध्य भएसँगै प्रतिष्ठानले पटक–पटक पहल गरेपछि संघीय सरकारले टिचिङबाट अध्यापन गर्नुभएका डा. श्रेष्ठलाई पठाएको रजिष्ट्रार गुरागाईले बताउनुभयो । प्रतिष्ठान र अस्पतालले गत वैशाखमा पनि विशेषज्ञ डाक्टर नियुक्तिका लागि आवेदन माग गरेको थियो । माग अनुसार एक जना चिकित्सकको आवेदन परे पनि मापदण्ड अनुकुल नहुँदा नियुक्त गर्न कठिन भएको थियो ।

प्रतिष्ठानले गत फागुन १३ मा पनि एक जना मुटु स्वास्थ्य विशेषज्ञ नियुक्तिका लागि आवेदन माग गरेको उहाँले बताउनुभयो । अस्पतालबाट तत्काल मुटु स्वास्थ्य सम्बन्धी ओपिडी सेवा संचालन गरिने र सामान्य शल्यक्रिया सेवा लिन भने बाहिरी जिल्ला जानु पर्ने उहाँले बताउनुभयो । २ जना चिकित्सकबाट हाल उपचार तथा परीक्षण गर्ने र क्रमशः व्यवस्थापन गर्दै आगामी वर्षमा थप विशेषज्ञ सेवासहित शल्यक्रिया लगायतका सेवा विस्तार गर्ने योजना रहेको उहाँको भनाई छ । अस्पतालमा निर्माणाधिन भवन प्राप्त भएसँगै आगामी आर्थिक वर्षमा मुटु स्वास्थ्य सम्बन्धी शल्यक्रियाका लागि आवश्यक उपकरण थप गरी सेवा अघि बढाउने तयारी रहेको उहाँले बताउनुभयो ।

Exit mobile version