हेटौंडाः १५ औँ संस्करणको मकवानपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत महिला भलिबलतर्फको खेलमा फाइनल समीकरण पूरा भएको छ । सोमबार हेटौंडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा भएको भलिबल महिलातर्फको सेमिफाइनल चरणको खेलहरु सम्पन्न भएसँगै फाइनल समीकरण पूरा भएको हो ।

आज मंगलबार प्रतियोगिताको फाइनल चरणको खेलहरु सञ्चालन हुनेछ । महिलातर्फको फाइनल खेलमा भीमफेदी गाउँपालिका र थाहा नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । सोमबार भएको महिलतर्फको पहिलो सेमिफाइनल खेलमा हेटौंडा उपमहानगरपालिकालाई २–० को सोझो सेटले हराउँदै भीमफेदी गाउँपालिका फाइनलमा प्रवेश गरेको छ । दोस्रो खेलमा बकैया गाउँपालिकालाई २–० को सोझो सेटले हराउँदै थाहा नगपालिका फाइनलमा प्रवेश गरेको हो ।

हेटौंडा उपमहानगरपालिकाको महिला टिमलाई २५–१९ र २५–१४ को सेटले भीमफेदी गाउँपालिकाले हराएको छ । बकैया गाउँपालिकालाई थाहा नगरपालिकाले २५–२२ र २५–१४ को सेटले हराएको हो ।
यस्तै, पुरुषतर्फको खेलमा थाहा नगरपालिका फाइनलमा प्रवेश गरेको छ । भीमफेदी गाउँपालिकालाई २–० को सोझो सेटले हराउँदै थाहा नगरपालिका फाइनलमा प्रवेश गरेको हो । थाहाले भीमफेदीलाई २५–१२ र २५–१५ को सेटले हराएको छ ।

सोमबारै सम्पन्न भएको पहिलो क्वार्टरफाइनल खेलमा पुरुषतर्फ बकैया गाउँपालिकालाई २–० को सोझो सेटले हराउँदै बागमती गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेको थियो । बागमती गाउँपालिकाले बकैया गाउँपालिकालाई २५–२१ र २५–२२ को सेटले हराएको थियो । दोस्रो क्वार्टरफाइनल खेलमा कैलाश गाउँपालिकालाई २–० को सोझो सेटले हराउँदै थाहा नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको थियो । थाहाले कैलाशलाई २५–८ र २५–१५ को सेटले हराएको थियो ।

तेस्रो खेलमा मकवानपुरगढी गाउँपालिकालाई भीमफेदी गाउँपालिकाले २–१ को सेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । पहिलो सेटमा २५–१२ ले भीमफेदीले मकवानपुरगढीलाई पराजित गरेको थियो । दोस्रो सेटमा मकवानपुरगढीसँग २२–२५ ले पराजित भएको भीमफेदीले तेस्रो सेटमा मकवानपुरगढीलाई १५–८ को सेटले सहजै पराजित गरेको थियो । राक्सिराङ गाउँपालिकालाई २–० को सोझो सेटले हेटौंडा उपमहानगरपालिकाको टिमले पराजित गरेको थियो । राक्सिराङलाई २५–१७ र २५–२२ को सेटले हेटौंडाले पराजित गरेको थियो ।

भलिबल प्रतियोगितामा पुरुषतर्फ ९ वटा पालिकाको टिम र महिलातर्फ ८ वटा पालिकाको टिमको सहभागिता रहेको प्रतियोगिताका संयोजक नरेन्द्र मुक्तानले जानकारी दिनुभएको छ । भलिबल प्रतियोगितामा जिल्लास्तरीय प्रतियोगिताका लागि छनौट भएर सहभागी भएकामध्ये उत्कृष्टलाई छनोट गरेर प्रदेशस्तरीय प्रतियोगिताका लागि सहभागी गराउने संयोजक मुक्तानले बताउनुभयो । गतवर्ष सम्पन्न भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पुरुषतर्फ थाहा नगरपालिका र महिलातर्फ भीमफेदी गाउँपालिकाले स्वर्ण जितेको थियो ।

एथ्लेटिक्सको ४ वटा विधाका खेल सम्पन्न

हेटौंडाः मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भइरहेको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत एथ्लेटिक्सतर्फको खेल सम्पन्न भएको छ । आइतबारबाट सुरु भएको प्रतियोगिता अन्तर्गत एथ्लेटिक्सतर्फको खेलहरु सम्पन्न भएको हो ।

सोमबार हेटौंडा–४ स्थित हुप्रचौरमा एथ्लेटिक्सतर्फको बाँकी रहेको ४ विधाका खेलहरु सम्पन्न भएको छ । छात्रतर्फको २०० मिटर दौडमा हेटौंडा उपमहानगरपालिकाका सुविन लामा प्रथम, बकैया गाउँपालिकाका सुशान्त राई द्वितीय र बागमती गाउँपालिकाका प्रविन राई तृतीय भएका छन् ।

छात्रातर्फको २०० मिटरको दौडमा भीमफेदी गाउँपालिकाकी यशोदा पुडासैनी प्रथम, थाहा नगरपालिकाका आकृति गोपाली द्वितीय र बागमती गाउँपालिकाका आरती भोम्जन तृतीय भएका छन् । ३००० मिटर दौडमा छात्रतर्फ थाहा नगरपालिकाका शिशिर गुरुङ प्रथम, थाहा नगरपालिकाकै हरिकृष्ण लामा द्वितीय र बकैया गाउँपालिकाका सचिन लामा तृतीय भएका छन् । छात्रार्फको ३००० मिटर दौडमा भीमफेदी गाउँपालिकाकी संगीता भोलन प्रथम, थाहा नगरपालिकाकी युनिषा लामा द्वितीय र राक्सिराङ गाउँपालिकाकी सुस्मिता घलान तृतीय भएका छन् । हाइजम्पमा बागमती गाउँपालिकाका आगमन राई प्रथम, कैलाश गाउँपालिकाका नवराज मुक्तान द्वितीय र थाहा नगरपालिकाका प्रवीण खत्री तृतीय भएका छन् । छात्रार्फ बागमती गाउँपालिकाकी प्रीति माझी प्रथम, भीमफेदी गाउँपालिकाकी पूजा कुमारी द्वितीय र हेटौंडा उपमहानगरपालिकाकी स्मृति मुक्तान तृतीय भएका छन् ।

यस्तै, ४ गुणा ४०० मिटर दौडमा छात्रतर्फ बकैया गाउँपालिका प्रथम, बागमती गाउँपालिका द्वितीय र मकवनपुरगढी गाउँपालिका तृतीय भएका छन् । छात्रातर्फ भीमफेदी गाउँपालिका प्रथम, बागमती गाउँपालिका द्वितीय र हेटौंडा उपमहानगरपालिका तृतीय भएका छन् । एथ्लेटिक्सतर्फको प्रत्येक विधामा प्रथम हुने खेलाडीहरु प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुन पाउने नेपाल एथ्लेटिक्स संघका राष्ट्रिय निर्णायक राजाराम पोखरेलले जानकारी दिनुभएको छ । गतवर्ष सम्पन्न भएको प्रदेशस्तरीय एथ्लेटिक्सतर्फको प्रतियोगितामा मकवानपुरले तृतीय स्थान ओगटन सफल भएको प्रतियोगिताका निर्णायक रञ्जिता फुयाँलले बताउनुभएको छ । एथ्लेटिक्सतर्फको प्रतियोगितामा मकवानपुरले ८ वटा पदक प्राप्त गर्न सफल भएको उहाँले बताउनुभयो ।

छात्र कबड्डीमा हेटौंडा र थाहा फाइनलमा

हेटौंडाः हेटौंडामा जारी १५ औँ संस्करणको मकवानपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत छात्रतर्फको कबड्डीमा हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका फाइनलमा प्रवेश गरेको छ । सोमबार हेटौंडा–४, पारिजातपथस्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको सेमिफाइनल खेलमा जित निकाल्दै हेटौंडा र थाहाको टिम फाइनलमा प्रवेश गरेको हो ।

सोमबार भएको खेलमा बागमती गाउँपालिकालाई हराउँदै हेटौंडाको टिम फाइनलमा प्रवेश गरेको हो भने मकवानपुरग्ढी गाउँपालिकालाई हराउँदै थाहा फाइनलमा प्रवेश गरेको हो । हेटौंडाले बागमतीलाई ७३–३६ र थाहाले मकवानपुरगढीलाई ४२–२२ ले हराएको थियो ।

यस्तै, छात्रातर्फको कबड्डीमा बगमती गाउँपालिका फाइनल प्रवेश गरेको छ । पहिलो सेमिफाइनल खेलमा राक्सिराङ गाउँपालिकालाई ५८–३५ अङ्कले हराउँदै बागमती फाइनलमा प्रवेश गरेको हो । यस्तै, दोस्रो सेमिफाइनल खेलमा जीत निकाल्दै हेटौंडा उपमहानगरपालिकाको टिम फाइनलमा प्रवेश गरेको छ । थाहा नगरपालिकाको टिमलाई ४१–३७ ले हराउँदै हेटौंडाको टिम फाइनलमा प्रवेश गरेको हो ।

सोमबार भएको छात्र कबड्डीतर्फको क्वार्टरफाइनल चरणको खेलमा जीत निकाल्दै हेटौंडा उपमहानगरपालिका, बागमती गाउँपालिका, थाहा नगरपालिका र मकवानपुरगढी गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेको थियो । क्वार्टरफाइनल चरणको खेलमा हेटौंडाले मनहरीलाई, बागमतीले बकैयालाई, थाहाले वाइ पाएर र मकवानपुरगढीले राक्सिराङलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

कबड्डी प्रतियोगिताको छात्र र छात्रा दुबैमा ७ वटा पालिकाको सहभागिता रहेको संयोजक सुमन नेपालीले जानकारी दिनुभएको छ । प्रतियोगितामा सहभागी भएका ७ वटा पालिकाको टिमबाट उत्कृष्ट प्रदर्शनी गर्ने खेलाडी प्रदेशस्तरीय प्रतियोगिताका लागि छनोट हुने उहाँले बताउनुभयो । मंगलबार उसु र तेक्वान्दो खेल सम्पन्न गरेर जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन हुनेछ ।

ReplyForwardAdd reaction