हेटौँडा : हेटौंडा उपमहानगरपालिका–१३, पदमपोखरीस्थित फेमकोल एकेडेमी सेकेण्डरी बोर्डिङ स्कूलमा विज्ञान र प्रविधिसम्बन्धी शैक्षिक प्रदर्शनी गरिएको छ । बिहीबार फोमकोलका विद्यार्थीले विज्ञान र प्रविधिसम्बन्धी शैक्षिक सामग्री प्रदर्शनी गरेका हुन् ।
४ कक्षादेखि ९ कक्षासम्म अध्ययनरत विद्यार्थीले गणित, चित्रकला, क्राफ्टसम्बन्धी शैक्षिक प्रदर्शनी गरेका थिए । विज्ञान तथा प्रविधिसम्बन्धी शैक्षिक प्रदर्शनीमा करिब ६० जना विद्यार्थी सहभागी भएका थिए । उनीहरुले गणितको आइडिया, आर्ट क्राफ्ट, सोलारसम्बन्धी प्रदर्शनी गरेका छन् । हेटौँडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाका निमित्त प्रमुख हरिचन्द्र सापकोटाको प्रमुख आतिथ्य तथा बोर्डिङकी प्रिन्सिपल कविता मुडवरीको सभाध्यक्षमा कार्यक्रम उद्घाटन भएको हो । उद्घाटन समारोहमा शिक्षा विकास महाशाखाका शिक्षा अधिकृत रमेश बिडारीको विशिष्ट आतिथ्य रहेको थियो ।
प्रदर्शनी कार्यक्रममै २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यार्थीले उत्कृष्ट नतिजा (जीपीए ४) ल्याउने गरी सहजीकरण गर्ने विषयगत शिक्षकलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा अंग्रेजी, नेपाली, कम्प्युटर र वातावरण विषयका शिक्षकलाई सम्मान गरिएको हो । यस्तै, २०८० सालको वार्षिक परीक्षामा कक्षागत प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी र एक सातासम्म सञ्चालन भएर सम्पन्न भएको वार्षिक खेलकुद कार्यक्रमका विजेता विद्यार्थीलाई पनि पुरस्कृत गरिएको फेमकोल एकेडेमीकी प्रशासन प्रमुख सुस्मा नकर्मीले जानकारी दिनुभयो ।