हेटौंडाः मकवानपुरका साहित्यकार तथा गीतकार श्यामकुमार बानियाँको म्युजिक भिडियो सार्वजनिक भएको छ । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानका उपाध्यक्ष बानियाँको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको हो ।
गत बिहीबार भीम विरागको स्मृति दिवसको अवसरमा सर्वश्री युट्युब च्यानलमार्फत् ‘तिमी धेरै माया’ नामक म्युजिक भिडियो सार्वजनिक गरिएको गीतकार बानियाँले जानकारी दिनुभएको छ । हेटौंडा–५ स्थित ज्ञानोदय बालबाटिका आवासीय माध्यमिक विद्यालयको सहयोगमा म्युजिक भिडियोको छायांकन तथा सम्पादन महेन्द्र ओझाले गर्नुभएको गीतकार बानियाँले जानकारी दिनुभएको छ ।
म्युजिक भिडियोमा आनन्द कार्कीको आवाज र ओमप्रकाश राईको संगीत रहेको उहाँले बताउनुभयो । नव साहित्य मिडिया प्रालिले उत्पादक गरेको म्युजिक भिडियोमा रिया श्रेष्ठ र विजयकृष्ण श्रेष्ठले अभिनय गर्नुभएको उहाँले बताउनुभयो ।
लामो समयदेखि हेटौंडामा बसेर साहित्यिक क्षेत्रमा लाग्दै आउनुभएका बानियाँको यसअघि पनि विभिन्न म्युजिक भिडियो सार्वजनिक भइसकेको छ । उहाँको ‘आकाश खुल्यो सुस्तरी’ र ‘हिमालमा घाम झुल्क्यो…’ बोलका स्वदेशगान गत वर्ष फागुन महिनामा सार्वजनिक भएको थियो । गायनमा समेत रुचि राख्ने बानियाँले ‘आकाश खुल्यो सुस्तरी…’ आफ्नै स्वरमा रेकर्ड गराउनुभएको थियो ।
गत असोजमा उहाँको आवाजमा ‘शून्य शून्य…’ र ‘माया भन्नु…’ बोलको गीत सार्वजनिक भइसकेको उहाँले बताउनुभयो । यस्तै, उहाँको मायोको घण्टी नामको गीत भने छायांकनमात्र भएको बताउनुभयो । आफूलाई बाल्यकालदेखि नै गीत संगीतमा रुचि भएकाले गीत तथा म्युजिक भिडियो सिर्जना गरेको उहाँले बताउनुभयो ।