हेटौँडा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, अदुवाबारीमा घरधनीको आँखामा खुर्सानीको धुलो छरी चोरी प्रयास गर्ने अन्दाजी ३५ वर्षीय अपरिचित पुरुष गम्भिर घाइते भएका छन् । बिहीबार राती ८ बजेको समयमा ६३ वर्षीय मीनबहादुर भ्लोन र ६४ वर्षीया देवीमाया भ्लोन घरमा खाना खाइरहेको अवस्थामा पहिचान नखुलेका पुरुष व्यक्तिले घरधनीको आँखामा खुर्सानीको धुलो छरी चोरीको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

अपरिचित व्यक्ति खुर्सानीको धुलो छर्केर एक्कासी घरमा प्रवेश गर्न लाग्दा भान्छामा रहेको सामानले प्रतिकार गर्दा पुरुषसहित श्रीमान र श्रीमती घाइते भएका थिए । चोरीका लागि आएका पुरुष गम्भीर घाइते भएका छन् । घाइते मीनबहादुर र देवीमायाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ भने अपरिचित पुरुषको हेटौँडा अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल लगिएको छ । गम्भिर घाइते भएकाले चोरीका लागि आएका पुरुषको परिचय खुल्न सकेको छैन ।