हेटौँडा : मकवानपुरगढी गाउँपालिकाको आयोजना तथा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड मकवानपुरको समन्वयमा आयोजना भएको एक दिने आयोडिन नुन सम्बन्धी चेतनामुलक कार्यक्रमको आयोजना भएको छ । मङ्गलबार मकवानपुरगढी गाउँपालिका–३, मक्रान्चुलीस्थित भानु माध्यमिक विद्यालयमा कार्यक्रम भएको विद्यालयका प्रधानाध्यापक राजेन्द्र थापाले जानकारी दिनुभयो ।
स्वास्थ्य निर्देशनालयले हरेक वर्षको फेब्रुअरी महिनामा सचेतना मुलक कार्यक्रमको आयोजना गर्दै आएको कर्पोरेशनका प्रमुख मधुसुदन अधिकारीले बताउनुभयो । यस वर्ष “थोरै खाउँ, सही मात्रामा खाउँ, दुई बालबालिकाको चिन्ह अङ्कित आयोडिन युक्त नुन नै खाउँ” भन्ने मूल नाराका साथ चेतनामुलक कार्यक्रमको आयोजना गरिएको अधिकारीले बताउनुभयो । अधिकारीका अनुसार यस वर्ष ५ वटा विद्यालय, समुदाय स्तर, स्वास्थ्य स्तरमा नुनसम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिएको थियो । कर्पोरेशनले विद्यालयको प्राथमिक तहमा पढ्ने ५० जना विद्यार्थीलाई व्याग वितरण गरेको छ । यस्तै ८ र ९ कक्षामा पढ्ने ६० जना भन्दा बढी विद्यार्थीलाई चेतनामूलक कार्यक्रम गरेको हो । कार्यक्रममा नुन खाँदाको फाइदा, खाने तरिका, नुन कसरी उत्पादन हुन्छ, यसमा आयोडिन कसरी मिसाइन्छ, नुन नखाँदा कस्तो असर गर्छ लगायतका विषयमा सहजीकरण गरिएको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदेन सदस्य तथा ३ नम्बरका वडा अध्यक्ष भागवत घिमिरेको सभाध्यक्षतामा रहेको थियो । कार्यक्रममा संचालन सहिद रुद्र स्मृति स्वास्थ्य इकाई इन्चार्ज लक्ष्मण दाहालले गर्नुभएको थियो । कार्यक्रममा गढी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव लामिछाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, सह प्राध्यापक, शिक्षक, कर्मचारी, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।