उपविजेता हेटौंडा फुटबल एकेडेमीका खेलाडीहरुको तस्वीर ।

हेटौंडा : छिमेकी मुलुक भारतमा भएको सद्भावना महिला फुटबल प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमी उपविजेता भएको छ । आइतबार भारत, बिहार राज्यको छप्रा जिल्लामा सम्पन्न सद्भावना महिला फुटबल प्रतियोगितामा एकेडेमी उपविजेता भएको हो ।

हेटौंडा फुटबल एकेडेमीको महिला टिम बिहारको सिवान फुटबल टिमसँग २–१ गोल अन्तरले पराजित भएको थियो । एकेडेमीको तर्फबाट मनिसा घिमिरेले मात्रै सान्त्वना गोल गर्न सफल भएकी थिइन् । उनले दोस्रो हाफमा गोल गरे पनि आफ्नो टिमलाई हारबाट जोगाउन सकिनन् ।

उपविजेता बनेको हेटौंडा फुटबल एकेडेमीको टिमले १० हजार भारतीय रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । विजेता सिवान फुटबल टिमले २० हजार भारतीय रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको थियो । सेमिफाइनलमा हेटौंडा फुटबल एकेडेमीले आयोजक छप्रा जिल्लाको टिमलाई १–० गोलले हराउँदै फाइनलको यात्रा पूरा गरेको एकेडेमीका अध्यक्ष तथा प्रशिक्षक भीम लामाले जानकारी दिनुभयो ।