हेटौंडा : मकवानपुरगढी गाउँपालिकामा जिल्लास्तरीय शिक्षक फुटसल प्रतियोगिता हुने भएको छ । आगामी शुक्रबार र शनिबार थर्डआई जिल्लास्तरीय शिक्षक फुटसल प्रतियोगिता हुने भएको हो ।

मकवानपुरगढी–३ स्थित भानु माध्यमिक विद्यालयको आयोजना तथा थर्डआई एजुकेशन सेन्टरको प्रायोजनमा प्रतियोगिता हुन लागेको विद्यालयका प्रधानाध्यापक राजेन्द्र थापाले जानकारी दिनुभएको छ ।
प्रतियोगितामा मकवानपुर जिल्लाभित्रका विद्यालयका शिक्षक कर्मचारीले सहभागिता जनाउन पाउने प्रधानाध्यापक थापाले बताउनुभयो । प्रतियोगिता मक्राञ्चुलीस्थित भानु माविको मिनी फुटसल रङ्गशालामा हुने उहाँले बताउनुभएको छ ।

प्रतियोगितामा सहभागी हुनका लागि बुधबारसम्म टिम दर्ता गराइसक्नुपर्ने र बिहीबार साँझसम्म खेलतालिका सार्वजनिक गरिने उहाँले बताउनुभयो । प्रतियोगिताको उपाधि विजेता टिमले २० हजार र उपविजेता टिमले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट रक्षकलाई पुरस्कार प्रदान गरिनेछ ।