हेटौँडा : हेटौँडामा पालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बुधबारबाट सुरु हुने भएको छ । नगर खेलकुद विकास समितिले पालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बुधबारबाट शुक्रबारसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।

हेटौँडा उपमहानगरपालिकाको शिक्षा महाशाखाका निमित्त प्रमुख हरिचन्द्र सापकोटाले एक सूचना जारी गर्नुहुँदै प्रतियोगिताको बारेमा जानकारी दिनुभएको छ । हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको व्यवस्थापनमा सञ्चालन हुने प्रतियोगिता हेटौँडा–४, हुप्रचौरमा हुने प्रतियोगिताका संयोजक राजाराम पोखरेलले जानकारी दिनुभएको छ ।

राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सामुदायिक र संस्थागत विद्यालयबाट विद्यार्थीको सहभागिता रहने छ । प्रतियोगितामा सहभागी हुनका लागि विद्यालयले सोमबारसम्म नाम दर्ता गराउनुपर्ने प्रतियोगिताका संयोजक राजाराम पोखरेलले जानकारी दिनुभएको छ । प्रतियोगिता अन्तर्गत छात्र÷छात्रा भलिबल, कबड्डी, एथ्लेटिक्स, मार्सल आर्टतर्फ कराँते, तेक्वान्दो, उसु लगायतका खेलहरु सञ्चालन हुने संयोजक राजाराम पोखरेलले बताउनुभयो ।

गत वर्षको प्रतियोगितामा उपमहानगरपालिकाभित्रका १९ वटा वडाका विद्यालयबाट करिब ६ सय जना विद्यार्थीको सहभागिता रहेको थियो । प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

गत वर्ष नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि हेटौँडा–१६, हटियास्थित जनप्रिय माध्यमिक विद्यालयले जितेको थियो । जनप्रिय माविले ९ स्वर्ण, ६ रजत र ६ कास्य पदकसहित उपाधि जित्न सफल भएको थियो । प्रतियोगितामा हेटौँडा–९ स्थित प्रगति माध्यमिक विद्यालयले ९ स्वर्ण, २ रजत र २ कास्य पदक प्राप्त गर्दै उपविजेता बनेको थियो । ४ स्वर्ण, २ रजत र २ कास्य पदक प्राप्त गरेको हेटौंडा–१८ स्थित ज्योति माध्यमिक विद्यालय र हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय तृतीय भएको थियो ।